काठमाडौँ । काठमाडौँ-धुलिखेल-सिन्धुली-बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको यति बेलाको मुख्य कोसेली नै जुनार र सुन्तला बनेको छ । त्यसैले यात्रुहरू ओहोरदोहोरको क्रममा दुईचार केजी भए पनि जुनार बोक्न छुटाउँदैनन् । यतिबेला सिन्धुली जिल्लाको गोलन्जार गाउँपालिका ५ खनियाखर्क बजार जुनार र सुन्तलाले पहेँलपुर भएको छ ।
यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौँ र भारतका विभिन्न सहरसम्म लोकप्रियता पाएको छ । राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा त्यस क्षेत्रका किसान र व्यापारीहरूको जीवन स्तर समेत उकासिएको छ । पूर्वी तराईका विभिन्न जिल्लाबाट यही राजमार्ग हुँदै काठमाडौँ आवत जावत गर्ने दैनिक हजारौँ साना ठूला सवारीका यात्रु नै जुनारको मुख्य ग्राहक हुन् ।
विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार बिक्रीका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन् ।
खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन् । किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन् । अहिले भने जुनारको सिजन सकिन लागेकाले खनियाखर्कमा १२० देखि १४० रुपैयाँ प्रति किलोसम्ममा जुनारको कारोबार भइरहेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्: