काठमाडौँ । मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै तीन ट्रक कारवाहीमा परेका छन् । लुम्बिनी प्रदेशको कुपिलवस्तुमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको लु १ झ ७३८ नम्बरको गाडीलाई साइड नदिएको भन्दै तीनवटा मालवाहक ट्रक कारवाहीमा परेका हुन् ।
कारवाहीमा पर्नेमा प्र १०२००१ ख ८४७३, ३३५१ र ९२०७ नम्बरका मालवाहक ट्रक रहेका छन् । उनीहरुलाई पाँच सयका दरले चिट कटाएर कारवाही गरिएको ट्रक चालकले बताएका छन् ।
ट्रक चालकका अनुसार मन्त्रीको गाडी कपिलवस्तु नगरपालिका सडकखण्डमा पश्चिमबाट तीव्र गतिमा पूर्वतर्फ जाँदै थियो । गाडी पछाडी भएकाले उनीहरुले गाडीमा को छ ? भन्ने चिनेनन् र आफ्नै गतिमा ट्रक हाँकीरहे । तर, केहीबेरमा उक्त गाडीले आफूहरुलाई ओभरटेक गरेर अगाडी तेर्साएको ट्रक चालकको भनाई छ ।
त्यसपछि मन्त्रीको गाडीबाट ओर्लिएर मन्त्रीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले ट्राफिक बोलाएर जबरजस्ती ५ सयको चिट काट्न लगाएको ट्रक चालकले बताएका छन् । यतिसम्मकी गाडी भित्रैबाट मन्त्रीले ‘त्यसलाई समातेर भित्र थुन’ भन्दै आदेश दिएकोसमेत ट्रक चालकले बताएका छन् । तर, प्रहरीले भने सामान्य कारवाही मात्रै गरेर छोडेको ती ट्रक चालकको भनाई छ ।
प्रहरीका अनुसार मन्त्री कार्की मंगलबार बिहान ९ बजे भालुवाङबाट भैरहवामा आयोजित जनस्वास्थ्यको कार्यक्रममा सहभागी हुँन जाँदै थिए ।