काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्समा हदैसम्मको मनपरी गरिएको पाइएको छ । कम्पनीमा कर्मचारी नियुक्तिका क्रममा हदैसम्मको मनपरी भएको पाइएको हो ।
कम्पनीले योग्यता नपुगेका कर्मचारीलाई पनि भकाभक आफूखुसी नियुक्ति दिएको भेटिएको छ ।
सूर्यज्योतिमा कर्मचारी नियुक्तिमा व्यापक चलखेल भएको चर्चापछि नियामक बीमा प्राधिकरणले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको प्राधिकरणका एक उच्च अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार कम्पनीले महत्वपूर्ण पदमा कर्मचारी नियुक्ति गर्दा आफूखुसी गरेको भेटिएको छ ।
यसो त संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा ३३ (२) अनुसार ब्रान्च मेनेजर, एरिया सेल्स मेनेजर र अफिसर पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।
तर, कम्पनीले ब्रान्च मेनेजर पदमा नियुक्त गरेका रविन्द्रप्रसाद शर्मा, एरिया सेल्स मेनेजर मोहनकुमार माझी र अफिसर राजेश खड्काको योग्यता +२ मात्रै भएको पाइएको छ । उनीहरुको नियुक्तिमा संस्थागत सुशासनसम्बन्धी निर्देशिकाको धज्जी उडाएर मनपरी गरेको अनुगमनमा सहभागी प्राधिकरणका एक अधिकारीले बताएका छन् ।
त्यस्तै, अनुगमनका क्रममा कम्पनीले नियुक्त गरिसकेका केहीलाई नियुक्ति पत्र नदिएको तथा उनीहरुको शैक्षिक योग्यता पनि पेश नभएको पाइएको ती अधिकारीको भनाई छ । ‘केही कर्मचारीलाई नियुक्ति पश्चात पनि नियुक्ति पत्र नदिइएको र शैक्षिक योग्यताको प्रमाण पत्र पनि पेश नभएको भेटिएको छ ।’, उनले भने, नियुक्तिमा पनि संस्थाभित्र मनपरी भएको पाइएको छ । थप हेर्दैछौं ।