काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षिया हिमकला खाम्चा मगर, ४१ वर्षीय बलराम सिलवाल र ३५ वर्षीय दिपेश महतो रहेका छन् ।
उनीहरुले सर्विया, न्युजिल्याण्ड, मलेसिया लगायतका देश पठाउने भन्दै पीडितबाट पैसा लिई विदेश नपठाई सम्पर्क विहिन भएका थिए । पीडितहरुको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हिमकला खाम्चा मगरले सर्विया पठाउने भन्दै एक जनाबाट ८० हजार रुपैयाँ, बलराम सिलवालले एक जनालाई न्युजिल्याण्ड पठाउने भन्दै एक लाख रुपैयाँ र दिपेश महतोले चार जनालाई मलेसिया पठाउने भन्दै १२ लाख रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा अवाश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।