काठमाडौँ । अमेरिकाले ‘डिभी चिट्ठा’ कार्यक्रम खारेज गर्ने तयारी गरेको छ । डिभीका नाममा आप्रवासीलाई अनियमित रुपमा भिसा दिँदा राष्ट्रिय सुरक्षा कमजोर भएको निष्कर्ष निकाल्दै रिपब्लिकन सांसदहरुले ‘डिभी चिट्ठा’ कार्यक्रम खारेज गर्ने तयारी गरेका हुन् ।
हाल अमेरिकाको विदेश विभागद्वारा सञ्चालित डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम अन्तर्गत वार्षिक ५५ हजार आप्रवासीलाई चिट्ठामार्फत ग्रिन कार्ड दिइँदै आएको छ ।
योग्यताका आधारमा छनोट गर्नुपर्नेमा चिट्ठामार्फत जथाभावी भिसा वितरण गरिएपछि डिभी लट्री प्रोग्राम नै बन्द गर्ने विषयमा अमेरिकी सरकारले छलफल तथा तयारी अघि बढाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि सन् २०१२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद् बैठकमा डिभी चिट्ठाको कार्यक्रम रद्द गर्न प्रस्ताव गरेका थिए । अहिले पनि ट्रम्प डिभी चिट्ठा खारेज गर्ने पक्षमा देखिएका छन् । सोही अनुसार अमेरिकी सरकारले सकेसम्म डिभी चिट्ठा कार्यक्रम खारेज गर्ने नभए थप कडाई गर्नेगरी दुई कोणबाट तयारी अघि बढाएको बताइएको छ । यद्यपि एकपछि अर्को आक्रामक निर्णय गर्दै आएका ट्रम्पले डिभी चिट्ठा कार्यक्रम खारेज गर्ने सम्भावना प्रबल रहेको जानकारहरुले बताएका छन् ।