काठमाडौँ । सानिमा बैंकको अमरसिंह शाखाको सेवा अवरुद्ध भएको छ । बैंकको पोखरास्थित अमरसिंह शाखाको सेवा फागुन २ गते (शुक्रबार) अवरुद्ध भएको हो । शुक्रबार शाखा बन्द रहेकोबारे बैंकले सूचना नै सार्वजनिक गरेर जानकारी गराएको छ ।
बैंकले उक्त शाखा प्राविधिक कारणले सञ्चालनमा आउन नसकेको जनाएको छ । साथै बैंकले शाखा कार्यालय सञ्चालनमा आउन नसक्दा ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।
शुक्रबार बैंकको अमरसिंह शाखा कार्यालय बन्द हुँदा अधिकांश सेवाग्राहीहरु बैंक पुगेर फर्किएका छन् भने केही ग्राहक शाखा सञ्चालनमा आउँछ कि भनेर कुरिरहेका छन् ।
यता बैंकको अमरसिंह शाखाका शाखा प्रबन्धक (ब्रान्च मेनेजर) बलराम केसीले भने शाखा कार्यालय पूर्ण रुपमा बन्द नभएर सिस्टम मात्रै डाउन भएको बताएका छन् । उनले बिजुलीको पोल सार्ने क्रममा तार चुँडिएपछि बैंकको उक्त शाखामा सिस्टमसँग सम्बन्धित कामहरु प्रभावित भएको बताएका छन् ।
‘बिजुलीका पोल सार्ने क्रममा तारहरु काटिएको छ । वर्ल्ड लिंक र नेपाल टेलिकममा खबर गरिसकेका छौँ । मर्मत कार्य भइरहेको छ । त्यसैले सिस्टमसँग सम्बन्धित कार्य रोकिएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै केसीले भने, ‘सिस्टमसँग सम्बन्धित बाहेक अन्य काम भइरहेको छ । तर सिस्टम नै बन्द हुँदा पैसा जम्मा गर्ने, झिक्ने लगायतका काम बन्द छ । ।’
त्यस्तै, शाखा प्रबन्धक केसीले सिस्टम नचल्दा सेवा अवरुद्ध भएपछि ग्राहकहरुलाई नजिकैको अन्य शाखामार्फत सेवा लिन आग्रह गरेको पनि बताएका छन् ।