काठमाडौँ । एभरेष्ट बैंकले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा नयाँ शाखाको औपचारिक उद्धघाटन गरेको छ । बैंकले ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले फागुन ८ गते फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गते फुङ्लिङ नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्धघाटन गरेको हो ।
फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ। एभरेष्ट बैंकका शाखाहरुको उद्घाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरको अत्याधुनिक बैंकीङ सेवाहरू प्राप्त गर्ने भएका छन्।
त्यस्तै, फिदिम र फुङ्लिङ्ग शाखाको उद्धघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थितीकाबीच औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।
फिदिम र फुङ्लिङमा आफ्नो १३०औँ र १३१औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ।