काठमाडौँ । नेपाल बैंक लिमिटेडको अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त भएका छन् । ‘घुसकाण्ड’का आरोपित तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर भण्डारीले बैंकबाट राजिनामा दिएपछि बैंकको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले पंज्ञानीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो ।
पज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेको बैंकले जनाएको छ ।
बैंकबाट प्रवाह हुने ऋणमा चर्को कमिसन खाएको दाबीसहित परेको उजुरीमा ‘क्लु’ भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष भण्डारीमाथि अनुसन्धान गरिरहेको छ ।
आफ्ना ड्राइभरको खातामा ऋणीसँग घुस असुल्ने अनि ड्राइभरलाई चेक काट्न लगाएर आफूले सो रकम क्यासमा लिने गरेको आरोप उपर उनीमाथि अनुसन्धान अघि बढेको हो । अख्तियारले उनका ड्राइभरको खातामा शङ्कास्पद कारोबारसमेत भेटेको छ ।
यहीबीच घुसकाण्डका आरोपित तत्कालीन अध्यक्ष भण्डारीले बैंकबाटै राजिनामा दिएका थिए । उनको राजिनामापछि बैंकको सञ्चालक समितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा नियुक्त गरेको छ ।