काठमाडौँ । सरकारले दुई पाङग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) मा पछाडि बस्ने यात्रुले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने व्यवस्था ल्याउने तयारी गरेको छ । २०४९ सालमा बनेको सवारी तथा यातायात व्यवस्था ऐनलाई परिमार्जन गर्दै नयाँ व्यवस्थासहित ल्याउन लागिएको नयाँ ऐनमा सरकारले यस्तो व्यवस्था गरेको हो ।
नयाँ ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।
मस्यौदामा दुई पाङग्रे सवारी साधनमा चालक र पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि चालकका लागि मात्रै हेलमेट अनिवार्य गरिएको थियो । त्यस्तै, सवारी साधन चलाउँदा चालक भन्दा अगाडि बालबालिकालाई राख्न नपाइने व्यवस्था पनि मस्यौदामा उल्लेख गरिएको छ ।
त्यसबाहेक नम्बर प्लेटबिना सवारी सधान चलाए १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा ५ महिना कैदका साथै सवारी जफत गर्ने व्यवस्था पनि प्रस्तावमा गरिएको छ । त्यस्तै, दर्ता नगरी सवारी सधान चलाएमा दुई पाङग्रे सवारी साधनको हकमा पाँच हजार रुपैयाँ, साना र मझौला सवारीको हकमा १५ हजार र ठूला सवारीको हकमा ५० हजार रुपैयाँ जरिवाना लगाउको व्यवस्था पनि प्रस्ताव गरिएको छ । त्यस्तै, तोकिएको प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गरे दुई पाङग्रे र तीन पाङग्रे सवारीलाई दुई हजार रुपैयाँ, साना र मझौला सवारीलाई तीन हजार रुपैयाँ र ठूला सवारीलाई ५ हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
त्यस्तै, बिना लाइसेन्स सवारी साधन चलाएका दुई पाङग्रे र तीन पाङग्रे सवारीको हकमा दुई हजार, साना र मझौला सवारीको हकमा ५ हजार र ठूला सवारीको हकमा १० हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था पनि मस्यौदामा उल्लेख गरिएको छ ।
त्यस्तै, रुट अनुमति नलिइ सवारी चलाए १० हजार, सवारी जाँचपास नगराई सवारी चलाए दुई पाङग्रे र तीन पाङ्ग्रे सवारीलाई ५ हजार, साना र मझौला सवारीलाई १० हजार र ठूला सवारीलाई १५ हजार जरिवाना तिराउने व्यवस्था ल्याइँदैछ । यसबाहेक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा यातायात क्षेत्रमा थुप्रै व्यवस्था थप गरिएको छ । यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको मस्यौदाः
yatayat