काठमाडौँ । मुक्तिनाथ विकास बैंकले झुठो विवरणका आधारमा बैंक खाता खोलिदिने गरेको पाइएको छ । बैंकले अर्कैको नागरिकताका आधारमा बैंकमा खाता खोलिदिने गरेको पाइएको हो ।
अर्थ सरोकारको सम्पर्कमा आएका पीडितका अनुसार आफ्नो हराएको नागरिकताका आधारमा मुक्तिनाथ विकास बैंकमा अमुक व्यक्तिले बैंक खाता खोलेका छन् ।
नाम आफ्नो, नागरिकता आफ्नो र सबै विवरण आफ्नो राखेर बैंकमा खाता खोलेको पाइएपछि उनी अचम्ममा परेका छन् । ‘मेरो हराएको नागरिकता प्रयोग गरेर मुक्तिनाथ विकास बैंकमा खाता खोलिएछ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती कर्मचारीले भने, ‘जबकी म खाता खोल्न भनेर मुक्तिनाथ विकास बैंकमा गएकै छैन ।’
ती पीडितका अनुसार बैंकमा उनको हराएको नागरिकता प्रयोग गरेर खाता खोलिएको देखिन्छ । यहाँ हराएको नागरिकता प्रयोग गरेर अमुक व्यक्तिले खाता खोल्ने क्रममा बैंकले सामान्य विषयसमेत नहेरेको देखिएको छ ।
बैंकले भने बैंक खाता खोल्न पुग्ने कागजात पेश भएपछि खाता खोलिएको दाबी गरेको छ । तर, एक व्यक्तिको नागरिकता प्रयोग गरेर अर्कै व्यक्तिले खाता खोल्न कसरी मिल्यो ? भन्ने प्रश्न टड्कारो बनेको छ । यद्यपि यहाँनेर बैंककै लापरवाही देखिएको जानकारहरु बताउँछन् । नागरिकता पेश गरेकै आधारमा अमुक व्यक्तिले अरु कसैको नाममा खाता खोल्दा त्यसले भविष्यमा गम्भीर वित्तीय जोखिम निम्त्याउन सक्ने जानकारहरुले बताएका छन् ।