काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङको विषयमा जवाफ दिन आवश्यक नभएको बताएका छन् । राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले एकजना कर्मचारीलाई हटाउँदा केही छाती पिटिपिटी रोएको भन्दै त्यसबारे जवाफ दिइरहन आवश्यक नभएको बताएका छन् ।
ओलीले प्राधिकरणबाट कुलमानलाई हटाएको विषयमा जवाफ माग्नेहरुलाई एउटालाई हटाएर अर्कोलाई नियुक्त गर्नु नै प्रधानमन्त्री जवाफ भएको बताएका छन् । उनले कसैलाई सहयोग हुनेगरि जो भन्यो त्यहीलाई नियुक्त गर्ने काम सरकारको नभएको पनि प्रष्ट पारेका छन् ।
सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि बुधबार विपक्षी दलहरुले संसदमा अवरोध गरेको थिए । विपक्षी दलको अवरोधकै कारण संसद बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले कुलमान हटाएको विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।
यसो त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुलमानको विषयमा प्रधानमन्त्रीको जवाफ चित्त नबुझे आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।