काठमाडौँ । ‘आइएमई खल्ती लिमिटेड’ ले एकीकृत कारोबार सुरु गर्ने भएको छ । आइएमई पे र खल्तीबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै मर्जरपश्चात् बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ ले एकीकृत कारोबारको मिति टुंगो लागेको हो । आज (सोमवार) दुवै कम्पनीले संयुक्त रूपमा दिएको जानकारीअनुसार उनीहरुले आगामी १ साउनबाट एकीकृत कारोबार थाल्नेछन् ।
खल्ती प्राइभेट लिमिटेडको सम्पूर्ण सम्पत्ति तथा दायित्व आइएमई डिजिटल सोलुसन लिमिटेडले सकार्ने गरी मर्जर प्रक्रिया टुगिंएको छ । मर्जरपश्चात् कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ३, पानीपोखरीमा राखिएको छ । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त उनीले पाइसकेका छन् । नेपाल राष्ट्र बैंकले गत ४ असार र कम्पनी रजिष्ट्रारको कार्यालयले १२ असारमा मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
कम्पनीहरुका अनुसार प्रयोगकर्ताहरूको समायोजन कार्य तिव्र रुपमा चलाइएको छ । यद्यपि अहिले दुवै एप यथावत रुपमा सञ्चालनमा रहने छ । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू एकीकृत गर्ने तयारी अघि बढेको छ ।
‘खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन् ।
संयुक्त कारोबारपछि एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सबै फिचरहरू त्यहाँ समावेश हुनेछन् । हालसम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् ।
आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने विश्वास लिइएको छ । खल्ती वालेटले आगामी दिनहरुमा प्रयोगकर्ताहरुलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने बताइएको छ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनैपनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन् । साथै भविष्यमा ऋण तथा अन्य सुविधाको पहुँच विस्तार पनि खल्ती एपमै हुनेछ ।
२०८१ को फागुनमा नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर गर्ने समझदारी भएको थियो । दुई कम्पनी मर्जर गर्ने समझदारीसँगै स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइएको थियो । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछर्यौट विनियमावली, २०७७ संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको थियो । संशोधित विनियमावलीमा भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरू एकआपसमा गाभ्न÷गाभिन वा प्राप्ति गर्न सक्ने व्यवस्था उल्लेख छ ।
आइएमई ग्रुपको लगानी रहेको आइएमई पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको इजाजत पाउने पहिलो कम्पनी समेत हो । यस्तै खल्तीमा इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकसहित ‘स्पारो’ एसएमएस सञ्चालनमा ल्याउने अमित अग्रवालसहित अन्य तीन जनाको लगानी रहेको छ । मर्जर हुनु अघि खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पेको चुक्ता पूँजी ३० करोड रहेको थियो । तर अहिले मर्जर पछि बनेको कम्पनीका बारेमा केही खुलाइएको छैन । खासगरी वित्तीय संरचना र शेयर स्वामित्वको बाँडफाँटका बारेमा गोप्य राखिएको छ । गूगल प्लेस्टोरमा खल्ती ५० लाखभन्दा बढी डाउनलोड भएको छ भने आईएमई पे १० लाखभन्दा बढी डाउनलोड भएको छ । यी दुई डिजिटल वालेट एक हुँदा भुक्तानी सेवाप्रदायकबीच अझै बलियो हुनेछन् ।