काठमाडौँ । सिन्धु विकास बैंकको नाफा ह्वात्तै बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८७.६० प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा बैंकले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खराब कर्जा घटेपछि इम्पेयरमेन्ट चार्ज घट्दा गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको खुद नाफा उल्लेख्य बढेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१४ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३४.५३ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३०.४९ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ४१७.३९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने १०.६३ प्रतिशतबाट घटेर ६.०३ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेपछि बैंकको इम्पेयरमेन्ट चार्ज १७ करोड ९० लाख रुपैयाँमा झरेको छ ।
नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ६९ पैसाले बढेर २१ रुपैयाँ १५ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ७० पैसा छ भने मूल्य आम्दानी अुनपात ४०.९९ गुणा रहेको छ । ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।