काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालमा लोडसेडिङ नहुने दाबी दोहोराएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै शाक्यले यस्तो दाबी गरेका हुन् ।
उनले केहीदिनदेखि ‘नेपालमा पुनः लोडसेडिङ सुरु’ भन्दै आइरहेका समाचार र प्रचारमा कुनै सत्यता नभएको दाबी गरेका छन् ।
यसो त नेपाल विद्युत प्राधिकरणको चलौनी वितरण केन्द्रले चितवन क्षेत्रमा विद्युत कटौती हुने तालिका नै सार्वजनिक गरेको छ । जसअनुसार चलौनी वितरण केन्द्रमार्फत विद्युत वितरण भइरहेका क्षेत्रमा बिहान तीन घण्टा र दिउँसो तीन घण्टा गरी दैनिक ६ घण्टा विद्युत आपुर्ति बन्द हुने भनिएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार भरतपुरबाट चनौली आउने ३३ केभीको कन्डक्टर तारमा तीन सय एमपीएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने र विद्युत्को माग ४५० एमपीएरसम्म पुगेका कारणले समस्या चलौनी वितरण केन्द्रले जनाएको छ । तालिका नै सार्वजनिक गरेर प्राधिकरणले लोडसेडिङ सुरु गरेपछि धेरैले लोडसेडिङ सुरु भएको बताएका थिए । जुन प्राधिकरणको सूचना अनुसार पनि सत्य हो ।
तर, प्राधिकरणका कार्यकारी निर्देशकले भने मर्मतका लागि विद्युत आपूर्ति बन्द भएको तर त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताएका छन् ।