काठमाडौँ । एनएमबि बैंक लिमिटेडले प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । बैंकले मनसुनमा देखिने अस्थिरता र सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेको हो ।
बैंकले काठमाडौँको रानीपोखरी स्थित, काठमाडौँ उपत्यका प्रहरी कार्यलयमा एक कार्यक्रमको आयोजना गरी एउटा १६ फिटको सेल्फ-बेलिङ राफ्ट, लाइफ ज्याकेटहरू र अन्य विपद् उद्धार सामग्री प्रदान गरेको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले काठमाडौँ उपत्यका प्रहरी कार्यलयका कार्यलय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई औपचारिक रुपमा ति उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरू र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन् ।
मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले, यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।