काठमाडौँ । नागढुङ्गा सुरुङ्गमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ ।
सिस्नेखोलादेखि नागढुङ्गासम्म करिब पौने ३ किमीको दूरी रहेको सो सुरुङमार्ग प्रयोगका लागि साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क (ट्रोल ट्याक्स) समेत निर्धारण गरिसकेको छ ।
जस अनुसार काररभ्यानहरूलाई काठमाडौँ आउँदा ६५ रुपैयाँ र काठमाडौँबाट फर्किदा ६० रुपैयाँ शुल्क लाग्ने छ । मिनी बस र मिनी ट्रकलाई काठमाडौँ आउँदा ११५ रुपैयाँ र काठमाडौँबाट जाँदा ८० रुपैयाँ शुल्क लाग्ने छ ।
त्यस्तै, बस र ट्रकले काठमाडौँ आउँदा २६० र काठमाडौँबाट जाँदा २०० शुल्क तिर्नु पर्ने छ। भारी उपकरणले भने काठमाडौं आउँदा ६०० र काठमाडौँबाट जाँदा २५० शुल्क तिर्नु पर्ने छ । यस सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधनले भने प्रवेश गर्न पाउने छैनन् ।
यो सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ ।
नयाँ प्रविधिको प्रयोग, सुरुङमा विभिन्न यन्त्रहरू जडान, सुरुङमार्गमा ट्राफिक स्थितिको जानकारीका लागि कन्ट्रोल रूम लगायत हरेक १५० देखि २०० मीटरको दूरीमा सीसी क्यामेरा जडान गरिएको र सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि र सुरुङमार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्नका लागि १५ वटा जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिविलित मीटरको समेत प्रयोग र आपतकालिन सञ्चारका लागि टेलिफोन समेत जडान गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: