काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त भएपछि प्राधिकरणको अध्यक्ष बन्न चाहनेहरुले लबिङ सुरु गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्त गरेको हो ।
त्यस लगत्तै यसअघि नै बीमा प्राधिकरणको अध्यक्ष बन्ने दौडमा रहेर अध्यक्ष बन्न नपाएका र अब अध्यक्ष बन्न चाहनेहरुले लबिङ सुरु गरेका छन् ।
यसअघि निलम्बनमा परेका ओझालाई सरकारले बर्खास्त गर्ने निर्णय गरेलगत्तै सोमबार राती नै काँग्रेस नेताहरुलाई आकांक्षीहरुले सम्पर्क गरेको काँग्रेसकै एक नेताले पुष्टि गरेका छन् । ती नेताका अनुसार शरद ओझा बर्खास्त भएको खबर सार्वजनिक हुनेबितिकै आफ्ना लागि पहल गरिदिन आकांक्षीहरुले आग्रह गरेका छन् ।
‘ओझाजीको बर्खास्तीको खबर बाहिरिनेबितिकै म लगायत हाम्रा नेताहरुलाई राती नै फोन आएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक काँग्रेस नेताले भने, ‘उहाँहरुले प्राधिकरणको अध्यक्षमा अब आफ्नो लागि पहल गरिदिन आग्रह गर्नु भएको छ ।’
यसो त प्राधिकरणको अध्यक्षबाट ओझा बर्खास्तीमा परेपछि प्राधिकरण काँग्रेसकै भागमा परेको छ । यही कारण पनि प्राधिकरणको अध्यक्ष बन्न काँग्रेस नेतालाई फोन गर्ने क्रम बढेको छ । यसपालि पनि प्राधिकरणको अध्यक्षका लागि आधा दर्जन आकांक्षीले लविङ सुरु गरिसकेको स्रोतको दाबी छ । तर, काँग्रेस नेताहरुले भने तत्कालका लागि हेरौँला भन्ने जवाफ दिएका छन् ।
२०८१ फागुन २१ गते प्राधिकरणको अध्यक्ष नियुक्त भएका ओझाको योग्यता र अनुभवमाथि प्रश्न उठेपछि उनी निलम्बनमा परेका थिए । त्यसपछि सरकारले असार ३० गते तीन सदस्यीय न्यायिक समिति गठन गरेको थियो । समितिले ओझाले योग्यता सम्बन्धमा फर्जी कागज पेश गरेको ठहर गर्दै पदबाट बर्खास्त गर्न सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा सरकारले ओझालाई बीमा प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्त गरेको हो ।