काठमाडौँ । बैशाली कृषि सहकारी संस्थाको १८ करोड भन्दा धेरै रकम हिनामिना भएको पाइएको छ । पर्वतको कुश्मा नगरपालिकामा रहेको उक्त सहकारीमा सञ्चालक र व्यवस्थापककै मिलेमतोमा १८ करोड ७६ लाख ३० हजार ५ सय २८ रुपैयाँ हिनामिना भएको पाइएको हो ।
यो हालसम्मको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथ्य भएको र थप उजुरी पनि आउने क्रम जारी रहेकाले हिनामिना भएको रकम अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
यसो त यसअघि सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गत साउन २६ गते पत्रमार्फत जिल्ला प्रहरी कार्यालय पर्वतलाई सहकारीको रकम हिनामिनामा संलग्न देखिएका १ सय ५३ जनाविरुद्ध अनुसन्धान गर्न र कारवाहीको प्रक्रिया अगाडि बढाउन भनेको थियो । त्यसपछि प्रहरी उक्त सहकारी ठगी प्रकरणको अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा सहकारीका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा रकम हिनामिना भएको प्रहरीले निष्कर्ष निकालेको छ । हाल प्रहरीले सहकारीबाट रकम लिनुपर्ने व्यक्तिलाई आफूसँग भएको प्रमाण (भौचर, पासबुक र अन्य कागजात) भदौ १३ गतेभित्र जिल्ला प्रहरी कार्यालयमा पेश गर्न आग्रह गरेको छ ।