काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपिओ जारी गरेको छ । कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आइपिओ जारी गरेको हो ।
कम्पनीले स्थानीयका लागि १ करोड ६३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ६३ हजार १ सय २५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ३ लाख ९ हजार ९३८ कित्ता सेयर निष्कासन गरेको छ ।
स्थानीय बासिन्दाका लागि जारी गरिएको सेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीयले आवेदन दिन सक्नेछन् । आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
स्थानीयका लागि खुला गरिएको आइपिओमा छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा रहेको नेपालीले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रभावित क्षेत्रका स्थानीयले नबिल बैंकको तानसेन, पाल्पा र फरसाटिकर शाखा, रुपन्देही, एनएमबि बैंकको तानसेन, पाल्पा र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकको तानसेन, पाल्पा शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।