×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनजीलाई जेन वाईको अपिल: ‘हाम्रो साझा भविष्यको लागि गम्भीर बनौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जनजीलाई जेन वाईको अपिल: ‘हाम्रो साझा भविष्यको लागि गम्भीर बनौँ’

Artha Sarokar

२९ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । ​हामी, जेन वाई (Millennials) ले नेपालको राजनीतिमा धेरै उतारचढाव देख्यौँ । माओवादी द्वन्द्वदेखि गणतन्त्र हुँदै संघीयतासम्मको यात्राका साक्षी हौँ । आज म, हामी सबैको तर्फबाट, जेनजी (Gen-Z) लाई केही गम्भीर प्रश्न र सुझावहरू दिन चाहन्छु । यो आग्रह व्यक्तिगत आक्रोश मात्र नभएर हाम्रो देशको भविष्यको चिन्ता हो ।

​राजनीतिक परिवर्तनको अदृश्य हात
​हामीले पछिल्लो समय रवि लामिछानेको उदय देख्यौँ । उनी जनतामाझ लोकप्रिय थिए, केही राम्रा काम पनि गरे । तर, जब उनले नयाँ पार्टी बनाएर चुनाव जिते, धेरै प्रश्नहरू उठे । यति छोटो समयमा कसरी सबै व्यवस्थापन भयो ? कसले पैसा दियो ? सुरुमा रहस्यजस्तो लागेको यो विषय पछि सहकारी प्रकरणसँग जोडियो । जनताको पसिना र मेहनतको पैसा डुब्यो, धेरैले घरबार गुमाए, कोही त आत्महत्याको बाटोमा समेत पुगे । यी सबैको हिसाब कसले दिने ?

​रवि लामिछानेको उदय केवल एक व्यक्तिको सफलता मात्र थिएन, यो कुनै अदृश्य शक्ति (जसलाई तपाईं xyz भन्न सक्नुहुन्छ) को भूराजनीतिक रणनीति थियो भन्ने कुरामा शंका गर्ने ठाउँ छ । यो रणनिती काम गरेन । ओलिको निकटता अर्कै तिर गयो । ओली सरकार ढाल्न अर्को समीकरण बन्यो, र त्यसपछि खोलियो अर्को रणनिति Gen Z आन्दोलन । यो आन्दोलनलाई पनि अर्को भूराजनीतिक शक्ति (abc) ले उपयोग गरेको हुन सक्छ । एउटाले संगठन गर्यो, अर्कोले गोली चलायो। यसको परिणामस्वरूप ५४ जना निर्दोष बालबालिकाले ज्यान गुमाए । यी सबै घटनाहरूले के देखाउँछ भने, हाम्रो आन्तरिक कमजोरीलाई बाहिरी शक्तिले कसरी उपयोग गरिरहेका छन् ।

​आन्तरिक कमजोरी र बाहिरी हस्तक्षेप
​विद्रोह र आन्दोलन कुनै बाहिरी शक्तिको कारणले मात्र हुँदैन, यो जनताभित्रको असन्तुष्टि र निराशाको उपज हो । तर, बाहिरी शक्तिहरूले यही असन्तुष्टिको बीउ रोप्छन् र सही समयमा गोडमेल गरेर उपयोग गर्छन् । हाम्रो समाज भ्रष्टाचार, असमानता, बेरोजगारी र नातावादमा डुबेको छ। हामी आफैँ कमजोर छौँ ।

​यसको दोष केवल नेतालाई मात्र दिएर हुँदैन, हामी आफैँ पनि यसका जिम्मेवार छौँ। किनकि यी नेताहरूलाई हामीले नै चुनेर पठाएका हौँ । यदि हामी आन्तरिक रूपमा बलियो र सन्तुष्ट भएका भए, कुनै xyz वा abc ले हाम्रो कमजोरीको फाइदा उठाउन सक्ने थिएनन् । त्यसैले, परिवर्तन ल्याउनुअघि हामीले आफैँलाई सुधार्नु जरुरी छ ।

​कस्तो नेपाल बनाउने?
​अब प्रश्न आउँछ, परिवर्तन त ल्याउन चाह्यौँ, तर कस्तो नेपाल बनाउने ? जेनजीले यो विषयमा गम्भीर हुन जरुरी छ । यसका लागि हामीलाई स्थिर र दीर्घकालीन परराष्ट्र नीति चाहिन्छ । ठूला र शक्तिशाली देशहरूको आफ्नै दबाब हुन्छ । ओलीले जस्तै कहिले चीन त कहिले उत्तर कोरियाको यात्रा गरेर भूराजनीतिक स्टन्ट देखाउँदा त्यसले हामीलाई नै असर पुर्याउँछ ।

​हाम्रो राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति बलियो हुनुपर्छ । हामीसँग बाहिरी शक्तिसँग लड्ने हतियार छैन, तर हामीसँग बुद्धिमत्ता र रणनीति हुनुपर्छ । ‘हामी आफैँ हतियार बनाउँछौँ’ भन्दै लिडेढिपी गर्यो भने इतिहासमा राजा परिवारको जस्तै दुखद अन्त्य हुन सक्छ। हाम्रा नेताहरू कुर्सीको लागि लडिरहेका छन्, कार्यकर्ता पाल्ने रमाइलो गरिरहेका छन् । उनीहरूले जनताको आवश्यकतालाई बेवास्ता गरेका छन् । यही कारणले हामीले आजको स्थिति भोग्नु परेको हो ।

​नीतिमा आधारित शासन प्रणाली
​हामीलाई अब कुनै व्यक्ति विशेषको नेतृत्व होइन, नीतिमा आधारित शासन चाहिएको छ। यसका लागि हाम्रो गृह, परराष्ट्र र रक्षा नीति एकै ठाउँमा (एउटा कलस्टर) अत्यन्तै स्थिर हुनुपर्छ। जुनसुकै पार्टीका मन्त्री आए पनि यी नीतिहरूमा सम्झौता हुनु हुँदैन।

​त्यस्तै, जनताको आधारभूत आवश्यकता पूरा गर्न शिक्षा, स्वास्थ्य, खानेपानी र सडक (अर्को कलस्टर) का स्पष्ट र दीर्घकालीन नीतिहरू हुनुपर्छ। देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योग, कर प्रणाली र पूर्वाधार निर्माणका नीतिहरू पनि स्पष्ट (अर्को कलस्टर) हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण, जनतालाई सेवा दिन पारदर्शी र जवाफदेही शासन प्रणाली (अर्को कलस्टर) बनाउनुपर्छ।

​यी सबै कामहरू गर्न नेताहरूलाई हामीले चुनेर सदनमा पठाएका हौँ, तर उनीहरू आफ्नै स्वार्थमा लिप्त छन्। अब यो जिम्मेवारी Gen Z को काँधमा आएको छ।

​नेतृत्वमा सही व्यक्ति
​पार्टी भनेको एक प्रणाली मात्र हो, तर यसको नेतृत्व गर्ने व्यक्ति अयोग्य, अदूरदर्शी र भ्रष्ट भएपछि पूरै प्रणाली नै बिग्रन्छ । आजका पार्टीहरूलाई नेतृत्व गर्नेहरूसँग हामी जेन वाई पनि आक्रोशित छौँ।
​यी सबै चुनौतीको सामना गर्न बालेन शाहजस्ता योग्य व्यक्तिहरू पनि प्रधानमन्त्री बन्न डराएको देखियो। यो सानो जिम्मेवारी होइन । तर, हामीलाई एकपटक फेरि कुनै नयाँ शक्ति (pqr) ले अर्को प्रयोग गरिरहेको त छैन भन्ने शंका पनि उब्जिरहेको छ । रवि लामिछाने वा बालेन शाहले नयाँ पार्टी बनाएर आउँदा पनि हामीलाई कसरी विश्वास गर्ने भन्ने दुविधा रहिरहनेछ ।

​सजग र होशियार बनौँ
​हाम्रो समाज र राजनीति Reset भएको छ । अबको भविष्य कस्तो हुन्छ भन्ने कुरामा हामी सबै नेपाली सजग हुनुपर्छ। कुनै पनि xyz, abc, pqr, def शक्तिलाई न्यूट्रल राखेर, सबैसँग विश्वासको सम्बन्ध बनाउँदै जेनजी पुस्ता अघि बढ्न सकेको खण्डमा, म विश्वासका साथ भन्न सक्छु- ‘पाँच वर्षमै देश बन्न सक्छ।’

​यो लेख तपाईहरूको लागि एउटा प्रश्न हो: के तपाईंहरू हाम्रो अनुभवबाट सिक्दै, हाम्रो भविष्यका लागि गम्भीर र सचेत हुनुहुन्छ ?

(सतिश सुवेदी, चार्टर्ड एकाउन्टेन्ट)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी