काठमाडौँ । महालक्ष्मी विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका चार जना कर्मचारीविरुद्ध पाँच दिनको म्याद थप भएको छ ।
पक्राउ परेका बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाका तत्कालीन शाखा प्रबन्धक सागर शाही, नगद विभागकी कर्मचारी निर्मला साउँद, कर्जा विभागमा कार्यरत धनन्जय पन्त र ग्राहक सहायता कक्षमा कार्यरत अम्बादत्त पन्तविरुद्ध पाँच दिनको म्याद थप भएको हो ।
उनीहरुविरुद्ध पाँच दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र दाहालले जानकारी दिएका छन् । दाहालका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
उनीहरुलाई बैंकको २ करोड ८५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरिएको थियो । उनीहरुमाथि बैंकको पैसा नेपालमा प्रतिबन्धित अनलाइन जुवा (वान एक्स बेट)मा लगाएर हारेको आरोप छ ।