काठमाडौँ । प्रधानमन्त्री सुशीला नेतृत्वको सरकारले अर्थमन्त्रीमा रामेश्वर खनाललाई नियुक्त गरेको छ । खनालले सोमबार राष्ट्रपति कार्यालयमा अर्थमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
अर्थमन्त्रीमा नियुक्त भएका खनाल अर्थतन्त्रबारे राम्रो ज्ञान भएका व्यक्ति हुन् । उनले यसअघि अर्थमन्त्रालयमा सचिवका रुपमा काम गरिसकेका छन् ।
थुप्रै अर्थमन्त्रीसँग काम गरेको अनुभव रहेका खनाल अर्थमन्त्री बनेपछि अहिले सामाजिक सञ्जालमा उनको चर्चा बढेको छ । सेयर बजारबारे पनि जानकार खनाल अर्थमन्त्री हुँदा सेयर लगानीकर्तामा पनि खुसियाली देखिएको छ ।
यसो त खनाल सेयर बजारप्रति कति सकारात्मक छन् ? भन्ने विषय उनले यसअघि सेयर बजारबारे दिएका अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ । लगानीकर्ताको घाँटीमा अड्किएको हड्डी जस्तै बनेको सेयर धितो कर्जामा लगाइएको क्याप हटाउन पनि उनले राम्रै पहल गरेका थिए । त्यसबाहेक पनि उनले सेयर बजार थप बलियो बनाउनुपर्नेमा विभिन्न ठाउँमा वकालतसमेत गर्दै आएका छन् ।
अहिले उनै खनाल अर्थमन्त्री हुँदा लगानीकर्ता उत्साहित बनेका छन् । त्यसैमाथि खनालको नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग राम्रो ट्युनिङ मिल्छ । यसले मुलुकको अर्थतन्त्र र सेयर बजार सुधार्न ठूलो भुमिका खेल्नेमा विश्वास गरिएको छ ।