काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूँजी बजारको विकासका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गरेका छन् । बिहीबार तीन-तीन पटक नेगेटिभ सर्किट लागेर कारोबार स्थगित भएपछि अर्थमन्त्री खनालले कार्यदल गठन गरेका हुन् ।
उक्त कार्यदलले पूँजी बजारमा विकसित विसंगति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने कदमबारे सुझाव दिनेछ ।
उक्त कार्यदलको संयोजक नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसी रहेका छन् । सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल छन् ।
त्यस्तै, कार्यदलको सदस्यसचिव अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई तोकिएको छ । उक्त कार्यदलले पाँच दिनभित्र सुझाव र ठोस कार्यान्वयन कार्ययोजना मन्त्रीसमक्ष बुझाउनेछ । कार्यदलले बुझाएका सुझावका आधारमा थप एक्सन लिइने अर्थमन्त्रीले जनाएका छन् ।