काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गाडी बुकिङ धमाधम रद्द हुन थालेका छन् । केही समयअघि नाइमा र नाडाले आयोजना गरेका अटो शोमा भएका बुकिङहरु धमाधम रद्द हुन थालेका हुन् ।
यसो त विगतमा एउटा मात्र अटो शो हुने गरेको भए पनि यसवर्ष दुईवटा अटो शो हुँदा अटो व्यवसाय चलायमान हुने व्यवसायीहरुले विश्वास गरेका थिए । गाडी बुकिङ पनि उत्साहजनक रुपमा बढेको थियो ।
तर, आन्दोलनका क्रममा विध्वंश मच्चिएपछि गाडी बुकिङ गरेकाहरुले पनि बुकिङ रद्द गर्न थालेको अटो व्यवसायीहरुले बताएका छन् । दशैँको मुखमा व्यापार बढ्दा भन्दा भएका गाडी बुकिङ पनि रद्द हुन थालेपछी व्यवसाय संकटमा परेको छ भने व्यवसायीहरु निराश बनेका छन् ।
अटो व्यवसायीका अनुसार विगतमा दशैँका बेलामा निकै चहलपहल हुने सोरुमहरु अहिले भने सुनसान छन् । व्यवसाय सुस्त हुँदा दशैँ, तिहारलाई लक्षित गरेर ल्याइएका अफरहरु पनि व्यर्थ जाने देखिएको व्यवसायीहरुको भनाई छ । उनीहरुले अटो क्षेत्र चलायमान हुनुको साटो झन् अवस्था बिग्रिएपछि थप मर्का परेको गुनासो गरेका छन् ।