काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियतहरु प्रदान गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरुत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जेनजी प्रदर्शनपछि निजी क्षेत्रको मनोबल कमजोर भएकाले त्यसलाई उकास्न कर्जा पुनर्संरचना/पुनर्तालिकिकरण, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह, कम ब्याजमा ऋण उपलब्ध गराउने काम गरिने बताएका छन् ।
विगतका क्षतिपछि कसरी पुननिर्माणमा काम गर्ने भन्ने प्रश्न उठ्ने गरेको भएपनि अहिले आजकै दिनमा खर्च गर्न सकिने ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको खरेलको भनाई छ । अर्कोतर्फ, लगानीका लागि ब्याजदर पनि सहज अवस्थामा रहेको उनले बताएका छन् । यसले भौतिक संरचनाको पुननिर्माण सहज हुने खरेलले दाबी गरेका छन् ।
त्यस्तै, उनले वित्तीय स्थिति सहज भएकाले यही आर्थिक वर्षमा साढे पाँच वा ६ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न समस्या नरहेको पनि बताएका छन् । खरेलका अनुसार सरकारी क्षेत्रबाट पुनर्निर्माणमा राम्रो योगदान हुने देखिँदै गर्दा निजी क्षेत्रबाट पनि सोही किसिमको अवस्था सिर्जना गर्न जरुरी छ ।