काठमाडौँ । नेपाली काँग्रेसले यसवर्ष चियापान र शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने भएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम काँग्रेसले यसवर्ष भने नगर्ने भएको हो ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको क्षति र नयाँ अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने भएको काँग्रेसले जनाएको छ ।
जेनजी प्रदर्शनका क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि कुटपिट भएको थियो । यससँगै देउवा निवासमा आगजनी गरिएको थियो भने काँग्रेसको केन्द्रीय कार्यालयसहित अन्य नेताहरुको पनि घरमा तोडफोड र आगजनी भएको थियो ।
उक्त आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको छ भने दुई हजार बढी घाइते छन् । हाल घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।