काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुलाई बिजुलीको बक्यौता तिर्न २१ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले बिजुलीको बक्यौता तिर्न उद्योगीहरुलाई २१ दिनको समय दिने निर्णय गरेको हो ।
आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले २१ दिनभित्र डेडिकेटेड तथा ट्रंक लाइनबापतको तिर्न बाँकी बक्यौता तिर्न भनेको छ ।
प्राधिकरणको सूचना अनुसार बिजुलीको बक्यौता तिर्न बाँकी रहेका उद्योगीहरुले आगामी कात्तिक १७ गतेभित्र बक्यौता तिरिसक्नुपर्नेछ । सो समयमा बक्यौता तिर्न प्राधिकरणको सम्पर्कमा आउनेहरुलाई बढीमा २८ महिनासम्मको किस्ताबन्दीको सुविधा दिइने प्राधिकरणले जनाएको छ ।
तर, सो अवधिमा पनि बक्यौता नतिर्ने र तिर्न नआउनेलाई भने विद्युत महसुल संकलन विनियमावली, २०७८ अनुसार कारवाही गरिने प्राधिकरणले जनाएको छ । उर्जामन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री कुलमान घिसिङले बिजुलीको बक्यौता उठाउने पहिलो निर्णय गरेका थिए ।