काठमाडौँ । पूँजीबजार सुधार कार्यदलको सुझाव कार्यान्वयन गर्न स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान)ले माग गरेको छ । एसोसिएसनले कार्यदलले दिएको सेयर धितो कर्जाको क्याप हटाउने, बैंकमाथि लगाइएको बन्देज हटाउने लगायतका सुझाव कार्यान्वयन गर्न माग गरेको हो ।
जेन-जी आन्दोलनपछि सेयर बजारमा नेगेटिभ सर्किट लागेपछि अर्थमन्त्री रामेश्वर खनालले पूँजी बजार सुधार कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले अर्थमन्त्रीलाई सुझाव समेत बुझाइसकेको छ ।
कार्यदलले दिएको सुझाव बजार सुधारको पक्षमा रहेको भन्दै एसबानले उक्त सुझावहरु तत्काल कार्यान्वयन गर्न माग गरेको छ । ती सुझावहरु कार्यान्वयव भए सेयर बजारको भविष्य उज्ज्वल हुने एसबानको भनाई छ ।
यसो त कार्यदलले बुझाएको सुझावलाई सेयर लगानीकर्ताहरुले पनि स्वागतयोग्य रहेको बताएका छन् । सेयर लगानीकर्ताहरुले पनि कार्यदलले दिएका सुझावहरु तत्काल कार्यान्वयन गर्न माग गरिरहेका छन् ।