काठमाडौँ । अष्ट्रेलियाको गरिबी दर बढेको छ । आर्थिक वर्ष सन् २०२४-२५ मा अष्ट्रेलियामा ३७ लाखले गरिबी जीवन यापन गरिरहेका छन् । यो संख्या अष्ट्रेलियाको कुल जनसङ्ख्याको १४. २ प्रतिशत हो ।
अष्ट्रेलियन सामाजिक सेवा परिषद् (एसीओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अष्ट्रेलियामा गरिबी सन् २०२५: सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्याङ्क सन् २०२१-२३ मा गरिबी दर १२. ४ प्रतिशत थियो, जुन अहिले उल्लेखनीय रूपमा बढेर १४. २ प्रतिशत पुगेको छ ।
न्यु साउथ वेल्स विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता युविस्थी नायडूका अनुसार, पछिल्ला दुई वर्षमा घरभाडामा अत्यधिक वृद्धि भएकोले खासगरी न्यून आम्दानी भएका व्यक्तिहरूको जीवनमा गम्भीर असर परेको छ ।
प्रतिवेदन अनुसार, सन् २०२१ अगस्तदेखि २०२३ अगस्तसम्मको अवधिमा ब्रिस्बेनमा घरभाडा ४१ प्रतिशत, सिड्नीमा ४० प्रतिशत र मेलबोर्नमा ३४ प्रतिशतले बढेको छ ।
बालबालिकाको अवस्थासमेत चिन्ताजनक रहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३–२४ मा अष्ट्रेलियामा प्रत्येक ६ बालबालिकामध्ये एक जना गरिबीको चपेटामा छन्, जसको सङ्ख्या ७ लाख ५७ हजार छ ।
एसीओएसएसकी प्रमुख कार्यकारी अधिकृत क्यासान्ड्रा गोल्डीले सरकारको हालसम्मका प्रयासहरू स्वागतयोग्य भए पनि ती अपर्याप्त रहेको बताउँदै थप ठोस कदम चाल्न आवश्यक रहेको धारणा राखे ।
उनले भने,’सरकारले अत्यन्तै न्यून रहेका आम्दानी सहायता भत्ता बढाउनुपर्ने, गरिबी न्यूनीकरणका लागि स्पष्ट लक्ष्य तोक्नुपर्ने, सामाजिक आवासको व्यवस्था विस्तार गर्नुपर्ने र सबैलाई रोजगारी सुनिश्चित गर्ने नीति ल्याउनुपर्छ । साथै, गरिबी घटाउने कार्यमा सबैलाई जिम्मेवार बनाउने गरी समयबद्ध लक्ष्य निर्धारण गरिनुपर्छ ।’