काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न उद्योगीहरुलाई कात्तिक २ गतेसम्मको अल्टिमेटम दिए पनि उद्योगीहरु भने प्राधिकरणको निर्देशन मान्ने ‘मुड’मा छैनन् ।
टिओडी मिटरको विवरण नभएको भन्दै प्राधिकरणको निर्देशन अनुसार बक्यौता तिर्न अस्वीकार गरेका उद्योगीहरुले यसपालि पनि बक्यौता नतिर्ने अडान लिएका छन् । ‘हामीले हरेक पटक प्राधिकरणसँग टिओडी मिटरको विवरण मागेका छौँ तर पाएका छैनौँ ।’, बक्यौता तिर्न बाँकी एक उद्योगका सञ्चालकले भने, ‘टिओडी मिटरको विवरण नपाएसम्म बक्यौता तिर्दैनौँ ।
मन्त्रीस्तरीय निर्णयबाटै डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउन निर्देशन दिँदा पनि हालसम्म सम्राट र रोल्पा सिमेन्ट उद्योग बाहेक अन्य उद्योगहरु बक्यौता तिर्न नआएको प्राधिकरणले जनाएको छ । प्राधिरणले दिएको म्याद (कात्तिक २ गते) भित्र बक्यौता नतिरे उद्योगको लाइन काट्ने समेत चेतावनी दिएको छ ।
प्राधिकरणका अनुसार लोडसेडिङको समयमा २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा उद्योगहरुलाई डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपलब्ध गराइएको विद्युतको मात्र ६ अर्ब ४० करोड ९२ लाख रुपैयाँभन्दा बढी रकम उठाउन बाँकी छ । प्राधिकरणले सोही बक्यौता तिर्न पटकपटक ताकेता गर्दै आएको छ । तर, उद्योगीहरुले भने सो बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन् ।