काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको छ । दुई महिनामा नेपालमा कुल ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
सार्वजनिक तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । त्यस्तै, यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ ।
त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९० हजार १ सय ९८ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको छ ।