काठमाडौँ । कामना सेवा विकास बैंकको फुटसल कप सिजन-५ सम्पन्न भएको छ । बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कामना सेवा फुटसाल कपको पाँचौँ सिजन शनिबार सम्पन्न भएको हो ।
पुरुष तर्फको खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्सियल बैंकलाई २-० ले हराउँदै उपाधी जितेको छ । त्यसैगरी, महिला तर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइ.एम.ई बैंकलाई १-० ले हराउँदै यस सिजनको उपाधी जितेको छ ।
कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।
बैंकको डि.सि.ई.ओ. विनय दाहालले एन्फा रेफ्री अन्जना सुनुवारलाई बल हस्तान्तरण गरी शुभारम्भ भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
खेलमा पुरुष तर्फको कुल १७ र महिला तर्फ कुल ९ टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।













