काठमाडौँ । कुनै दिन सामान्य ज्ञानमा प्रश्न सोधिएला- आफ्नै सहकर्मीमाथि शारीरिक हिँसा प्रकरणमा दोषी ठहर भएर पनि बैंकको अध्यक्ष बन्ने व्यक्ति र सो बैंक कुन हो ? यसको सरल जवाफ दिनुहोला राष्ट्रिय बाणिज्य बैंक ।कुनै दिन कसैले यस्तो प्रश्न पनि गर्ला- ऋणी नै बैंकको संचालक बन्न नपाइने नियम तोडेर कुन बैंकमा संचालक बन्न मिल्छ ? त्यति बेला पनि भनिदिए हुन्छ सो बैंक राष्ट्रिय बाणिज्य बैंक नै हो । र यो बैंकमा पूराना पार्टीका नेताका झोलेहरुले जे गरेपनि हुन्छ । न उनीहरुलाई कानुन लाग्छ, न कानुन अनुसार उनीहरु काम गर्छन् ।
आफ्नै पार्टी जगननाथ भएपछि उनीहरु जस्तो सुकै अपराधमा मुछिए पनि बैंकको संचालक बन्न पाउँछन्, पार्टीका बाले आशिर्वाद दिए पछि कानुन सानुन झोलाका राखेर ती झोलेहरुले जे गर्न पनि मिल्छ । संस्थागत सुशासन, पारदर्शिता भनेको राष्ट्रिय बाणिज्य बैंकका लागि कुन चराको नाम जस्तो भएको छ यति बेला । र त पदमा बस्न नै नमिल्ने व्यक्तिहरु संचालक छन्, अझ विवादित पात्र अध्यक्ष छन् ।
यहि राष्ट्रिय बाणिज्य बैंकमा जेनजी आन्दोलनका नाममा सुन र नगद लुटपाट भयो । लुटपाट पनि यसरी भयो कि, ए भाई तिमीले लुट्यौ ? मैले देखिन शैलीमा भयो । बैंकमा कोहि आएर सुन र पैसा लुटेछ भने लुटेछ भन्ने शैलीमा भयो । कारण भल्टमा सुरक्षित राख्नुपर्ने रकम भल्टमै थिएन । सुरक्षित राख्नुपर्ने सुन राख्न आवश्यक सुरक्षा नै दिईएको थिएन । आगो त अरु बैंकमा पनि लागेका थिए, तर अन्य बैंकमा आगो लाग्दा भल्टको पैसा जोगिने, राष्ट्रिय बाणिज्य बैंकमा सबै पैसा लुटिने कसरी भयो ? अरु बैंकमा सुन जोगिने, राष्ट्रिय बाणिज्य बैंकमा सुन सबै चोरीने कसरी भयो ? यी तमाम प्रश्नहरुको जवाफ नदीईकन एउटा कमिटी बनाएर बैंकलाई पुरै चोख्याउने र पैसा र सुन लुटिएको जस्तो विषयलाई आवश्यक अनुसन्धान नै नगरी हतारहतार सुन राख्नेहरुको पैसा फिर्ता गर्ने योजना बनाएको छ बैंकले । र यहि बेला एउटा गम्भीर चर्चाले बैंक हल्लाएको छ । हो, राष्ट्रिय बाणिज्य बैंककै कर्मचारीहरुले चिया गफमा भनिरहेका छन्, त्यो दिन बैंकमा लुटिएको भनिएको १८ केजी सुन नै थिएन, न ५ करोड पैसा नै लुटिएको थियो त्यो रात सो बैंकबाट ।
अव प्रश्न उठ्छ, सुन थिएन भने कसरी लुटियो ? राष्ट्रिय बाणिज्य बैंककै कर्मचारीहरु भन्छन्- यसको गम्भीर अनुसन्धान हुनुपर्छ । अनुसन्धान भयो भने अहिलेको नेतृत्व मात्र फस्दैन, बैंकभित्र भईरहेको सुन घोटाला प्रकरणको तथ्य पनि बाहिर आउँछ । हो, उनीहरु भनिरहेका छन्, हिसाबमा सुन १८ केजी नै थियो, तर १८ केजी सुन बैंकमा थिएन । लामो समयदेखि सुनको सर्ट भईरहेको थियो बैंकमा । अनि लुटिएको सुनको हिसाबकिताब पैसामा गरेर बैंकभित्रको ठुलो सुनकाण्डलाई ढुस पार्ने योजना भईरहेको छ, र बैंकमा यो खेलमा स्वयम् बैंकको नेतृत्व लागिरहेको छ ।
हाम्रो कुरा सो आरोप पूर्ण रुपमा सत्य छ भन्ने होइन । हामी चाहान्छौं- त्यस्तो नहोस पनि । तर हावा नचली कसरी पो पात हल्लिन्थ्यो र ? पात हल्लिएपछि, हावा नै चलेको छैन भने झन् कसरी हल्लियो भनेर अनुसन्धान हुनैपर्छ । हो, राष्ट्रिय बाणिज्य बैंकमा आगो लागेभन्दा बेस्सरी यो चर्चा फैलिएको छ कि, त्यो रात राष्ट्रिय बाणिज्य बैंकको शाखामा १८ केजी सुन थिएन, मात्र त्यति सुनको हिसाब थियो ।
यता प्रहरी सो तथ्यको अनुसन्धान गरिरहेको छ, तर बैंक कमिटी बनाएर हतार हतार सुनको सट्टा पैसा तिर्छौँ भनेर लागिरहेको छ । यो हतारो किन ? यसले गम्भीर प्रश्न उब्जाएको छ । सो दिन सुन लुटिएका केहि फुटेजहरु बाहिर आएका हुन् । तर जसरी १८ केजी सुन लुटियो भनिएको छ, त्यो अनुसारको माहोल नै थिएन भन्छन्, प्रत्यक्षदर्शीहरु । केहि सुन र पैसा लुटिएको भए पनि १८ केजी सुन लुटिदा जुन खालको माहोल देखिनुपर्थ्यो बैंकको लुट समयमा त्यस्तो कतै पनि देखिएको थिएन । केहि सुन लुटिएको फुटेज बाहिर आउँदा त्यसले १८ केजी सुन लुटको स्थिति देखाउँदैन ।
अझ अचम्मको कुरा त के छ भने बैंकको सिसिटिभी फुटेज पनि जलेको भनिएको छ, बैंकले सुरक्षित राख्नुपर्ने सुन सुरक्षित नराखेको पाइएको छ । अनि यति गम्भीर घटनामा विना अनुसन्धानको हतारोले विभिन्न प्रश्न र शंका उब्जाएको छ, जसको अनुसन्धान हुनैपर्छ ।
१. राष्ट्रिय बाणिज्य बैंकबाट १८ तोला होइन, १८ केजी सुन लुटियो भनिएको छ । यो चानचुन लुट होइन । तर सो दिन सो बैंकको वरपर जे जे देखिएको थियो, त्यसले केहि पैसा र सुन लुटिएको देखाए पनि १८ केजी सुन लुटिएको देखाउँदैन । त्यसैले पनि बैंकको दाबी शंकास्पद छ ।
२. बैंकले लुटिएको सुन कहाँ कसरी राखिएको थियो भन्ने गरेको दाबी बैंकले सुन कसरी राख्नुपर्थ्यो भन्ने कार्यविधिसँग नै मेल खाँदैन । यसले पनि लुटिएको सुनको परिणाममाथि शंका गर्ने प्रसस्तै ठाउँ छन् ।
३. एकै शाखामा १८ केजी सुन थियो भन्ने दाबी पुष्टी गर्न धेरैकुराले साथ दिनुपर्छ । ती कुरा पुष्टी कागजी रुपमा भए पनि फिल्डमा भएको देखिंदैन । अझ भन्नुपर्दा फिल्डमा आवश्यक अनुसन्धान नै भएको छैन । यसले पनि राष्ट्रिय बाणिज्य बैंकमा १८ केजी सुन थियो, र सो सुन लुटियो भन्ने कुरामा शंका गर्ने ठाउँ छ ।
४. १८ केजी सुन राख्न के के साबधानी अपनाउनुपर्ने थियो ? यतिको परिमाणको सुन राख्ने ठाउँ कतिको सुरक्षित हुनुपर्थ्यो ? सो सुन किन भल्टमा राखिएन ? भल्टमा राख्ने जिम्मेवारी कसको थियो ? अहिलेपो लुटको कुरा आयो, यसरी लुटिन्छ भन्ने कसैलाई थाहा थिएन भनिरहेको छ बैंकले, आगलागी लगायतका भवितव्यको तयारी गर्नुपर्दैन थियो ? पर्थ्यो भने किन भल्टमा राखिएन ? राखिएको थियो भने सुन कसरी लुटियो ? यी गम्भीर प्रश्नको जवाफ बैंकसँग छैन ।
बैंकका सीइओ देवेन्द्र रमण खनाल यस विषयमा मिडियामा बोल्न नै चाहादैनन् । अनौपचारिक रुपमा कसैले बाहिर सोध्यो भने उनी १८ केजी सुन थियो शाखामा भन्न सक्दैनन् । फिस्स हाँस्छन् र हिड्छन् । यसबाट के बुझ्ने ? के यो अनुसन्धानको विषय होइन ?
अव यस्तो शंका गर्ने ठाउँ किन हुन सक्छ भन्ने विषय पनि हेरौं ?
कुनै बेला एनआईसी एशिया बैंक लुटियो भनियो । पछी छानविन गर्दा सो रकम लुट्ने काम बैंककै कर्मचारीको रहेछ भन्ने प्रमाणित भयो । कुनै बेला सिटिजन्स बैंकबाट सुन हरायो । पछि बुझ्दा बैंककै कर्मचारीले घोटाला गरेका रहेछन् । यसरी सुन घोटाला हुने काम महालक्ष्मी बिकास बैंकदेखि अरु बैंकहरुमा पनि भयो । इन्स्योरेन्सको लोभले आफ्नै श्रीमतीलाई मार्ने देशमा राष्ट्रिय बाणिज्य बैंकमा चाहिं सबजना सज्जन छन्, उनीहरु माथि अनुसन्धान नै हुनुपर्दैन, र जे लुटियो त्यो लुटिएकै हो भन्न मिल्छ र ? यसमा अनुसन्धान गर्नुपर्दैन ? तपाइ हामीले घरमा दुई तिन तोला सुन राख्दा पनि कति सुरक्षित तरिकाले राख्छौं, बैंकले १८ केजी सुन राख्दा चामल पोको पारेर जसरी त पक्कै राख्न मिल्दैन थियो होला ? दालमा केहि कालो छ भन्ने त पक्कै शंका गर्ने ठाउँ छ ।
हाम्रो कुरा त्यो दिन सुन लुटिएको होइन, यो घोटाला हो नै हो भन्ने अहिलेलाई होइन । तर धेरैको शंका त्यतिबेला सुन लुटिएको होइन, त्यहाँ गम्भीर घोटाला छ भन्ने पक्का हो । त्यसैले यो प्रकरण अनुसन्धानको दायरामा आउनुपर्छ । त्यो दिन सुन लुटिएकै हो भने पनि सुन लुटिएको बारे विस्तृत विवरण सार्वजनिक हुनुपर्छ । होइन भने, केटाकेटी आए, सुन लुटे, गए भन्ने शैलीमा यति ठुलो प्रकरणलाई सामान्यकरण गर्न मिल्दैन, गर्नु हुँदैन । बाँकी यो शंकालाई बल पुग्ने थप थप तथ्य लिएर अर्को अंकमा प्रस्तुत हुनेछौँ ।
घटनाको प्रकृति, राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीको अनुपचारिक कुराकानीले शंका गर्ने ठाउँ दिएको छ कि लुटिएको भनिएको १८ केजी सुन सो रात बैंकको बानेश्वर शाखामा छँदै थिएन । यो घटनामा लुटलाई दोष दिएर सीइओ देखि संचालक समितिसम्म झुटको पुलिन्दा बुनेर ठुलो सुन घोटाला उम्काउने दाउमा छन् । हो भने यो अक्षम्य हो, होइन भने कुरा के हो प्रष्ट आउनुपर्यो बाहिर ।
यति ठुलो घटनामा बैंकले आफ्नो आधिकारिक धारणा नदिनु, बैंकका सीइओ, अध्यक्ष र राष्ट्र बैंकका केहि हाकिमहरुको अस्वाभाविक हिमचिम हुनु लगायतका विषय गम्भीर छन् । यसै पनि अनइथिकल अध्यक्ष, यसै पनि गैरकानुनी संचालक, उनीहरुबाट जे हो, त्यो आउला भन्न सकिन्न । यो विषय अतिरंजनाका लागि हुँदै होइन, बस अनुसन्धान हुनुपर्छ भन्नका लागि हो । त्यसैले पनि यसको स्वतन्त्र छानविन हुनुपर्छ, हुनैपर्छ । (भिडियो)













