काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले इन्जिन मर्मतबापतको २८ करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले दुई वर्षअघि मर्मतका लागि इसराइल लगेको न्यारोबडी जहाजको दुईवटा इन्जिन मर्मतबापतको २८ करोड रुपैयाँ बराबर भुक्तानी गरेको हो । निगमका अनुसार सो भुक्तानी डेढ वर्षदेखि रोकिएको थियो ।
इन्जिन मर्मतबापतको रकम भुक्तानी भएसँगै इसराइल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई)मा मर्मतका लागि पठाइएको निगमको इन्जिन फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ । हाल निगमले भाडाको इन्जिन प्रयोग गरिरहेको छ ।
इन्जिन मर्मत बापतको करिब २८ करोड र भाडामा प्रयोग भइरहेको इन्जिनको करिब ४२ करोड गरी निगमले कुल ७० करोड बढी रकम आईएआईलाई बुझाउनुपर्ने थियो । आफ्नो इन्जिन इसराइलमा थन्काएर भाडाको इन्जिन चलाइरहेकोप्रति प्रधानमन्त्री सुशीला कार्कीले प्रश्न उठाएकी थिइन् ।
प्रधानमन्त्रीकै निर्देशनमा निगमको नयाँ नेतृत्वले इन्जिन मर्मतको बक्यौता तिरेको छ भने भाडाको इन्जिन फिर्ता गर्ने तयारी समेत गरेको छ । हाल निगमले भाडामा प्रयोग गरिरहेको इन्जिनको खर्च दैनिक ११ लाख रुपैयाँ आउँछ । इसराइलमा निगमको इन्जिन सन् २०२४ को अप्रिल २८ देखि रोकिएको छ ।













