काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४’ बाट सम्मानित भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गर्ने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ बाट सम्मानित भएको हो ।
साफाले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १८औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनीहरु तथा सरोकारवालाहरुलाई बैंकको विवरणहरु उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।
साफाले पाकिस्तानको इस्लामाबादमा आयोजित एक समारोहमा उक्त अवार्ड बैंकलाई प्रदान गरेको छ । बैंकले गत वर्ष समेत साफा अवार्ड जित्न सफल भएको थियो ।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न एघार वटा दक्षिण एसियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरु समावेश छन् । साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरुको मुल्याङ्कन गरि विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आईरहेको छ ।
बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४’ मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको थियो ।













