काठमाडौँ । धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई २६७६.०३ बिन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता सेयर रु ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबरमा कारोबार भएको छ । मंगलबारबाहेक सबै दिन कारोबार रकम रु छ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार रु पाँच अर्बमा सीमित रह्यो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९.९२ अंकले बढेर दुई हजार ६००.२२ बिन्दुमा पुगेको थियो । सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता सेयर रु छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ मा किनबेच भएका थिए । सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे । सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड ७.५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा पर्यो ।
त्यस्तै, सोमबार नेप्से परिसूचक ५०.४४ अंकले उकालो लागेर दुई हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड ३१ लाख ७८ हजार ६७६ कित्ता सेयर रु छ अर्ब ९८ करोड तीन लाख ६६ हजार ७४३ मा कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ८१ लाख ५१ हजार ५४६ को कारोबारसहित शीर्ष स्थानमा रह्यो । झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । मविलुङ इनर्जी लिमिटेड ४.४४ प्रतिशतले घट्यो ।
मंगलबार नेप्से पाँच दशमलव ३२ अंकले बढेर दुई हजार ६५५.९९ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड १३ लाख ९९ हजार ४१० कित्ता सेयर रु पाँच अर्ब ७७ करोड २३ लाख ६७ हजार २९ मा कारोबार भयो । विकास बैंक, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटे भने अन्य समूह बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४१ प्रतिशतले उकालो लाग्यो ।
कारोबारको तेस्रो दिन बन्दीपुर केबलकार रु २६ करोड ९९ लाख ९७ हजार ६४९ को कारोबारसहित अग्रस्थानमा रह्यो । झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड ४.९६ प्रतिशतले घट्यो ।
त्यस्तै, बुधबार नेप्से नौ दशमलव ६१ अंकले बढेर दुई हजार ६६५. ६० बिन्दुमा पुगेको थियो, जुन अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशत वृद्धि हो । सो दिन एक करोड २३ लाख ३१ हजार ७९१ कित्ता सेयर ९० हजार ७८२ पटकको कारोबारमार्फत रु छ अर्ब ६३ करोड ३९ लाख ४८ हजार ९३६ मा किनबेच भयो । वित्त, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूहका उपसूचक घटे भने अन्य उपसूचक बढे । होटल तथा पर्यटन समूह शून्य दशमलव ९९ प्रतिशतले वृद्धि भएको थियो ।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर रु ६२ करोड ४३ लाख ४३ हजार २१५ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई पुनः सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक, रिभरफल्स पावर र माहुली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए भने बोटलर्स नेपाल (बालाजु) ३.९४ प्रतिशतले घट्यो ।
साताको अन्तिम दिन बिहीबार पनि नेप्से बढेर साताभरिको कारोबार सकारात्मक रह्यो । नेप्से १०.४३ अंकले बढेर दुई हजार ६७८.०३ बिन्दुमा पुगेको थियो । बिहीबार कुल एक करोड ३७ लाख १३ हजार २५६ कित्ता सेयर रु छ अर्ब ५९ करोड २७ लाख ७२ हजार ४८३ मा कारोबार भयो ।
सागर डिस्टिलरीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्डस्ट्री, झापा इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीको लाभ कमाए । हिमस्टार ऊर्जा कम्पनी सर्वाधिक घट्ने कम्पनी बन्यो । बैंकिङ समूहको उपसूचक १.४९ प्रतिशतले बढेर सबैभन्दा बढी उकालो लाग्यो ।
बजार निरन्तर उकालो लागिरहेको अवस्थामा निकट भविष्यमा आउने मौद्रिक नीतिको समीक्षाले नेप्सेको गतिमा प्रभाव पार्ने देखिन्छ । हाल ब्याजदर न्यून र तरलता पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन । यस्तो अवस्थामा लगानीकर्ताको मनोभाव मिश्रित देखिन्छ । यस्तोमा लगानीकर्ताको मनोबल बढाउन नियामक स्पष्टता, कर्जा विस्तारमा प्रोत्साहन, पुँजीबजारमैत्री प्रावधान आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ । साथै,आगामी निर्वाचनको वातावरण स्थिर र सकारात्मक बन्दै जाँदा आर्थिक गतिविधि बढ्ने र यससम्बन्धी नीति सकारात्मक भए यसले बजारमा मनोवैज्ञानिक ऊर्जा थप्ने जानकारहरू बताउँछन् ।













