Skip to content
LAXMI SUNRISE BANK

पोखरा विमानस्थलको नालीबेली खोज्ने खोज पत्रकारलाई सलाम ! (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । सत्यको खोजीमा अविरल, अविराम लाग्ने एउटा पत्रकारले जव तथ्यको उत्खनन गर्न खोज्छ, तव आईपर्छन् पावरको फुर्ती लाउने पाखुराका धम्की, घर परिवारको नाम जोडेर सिध्याइदिने चेतावनी । सँगै आउँछन्, लोभ लालच र प्रभावका निरन्तर फोन कल । पोखरा अन्तराष्ट्रिय विमानस्थल मात्र होइन, बेकामे यस्तै पूर्वाधारमा भएको भ्रष्टाचारका बारेमा जव पत्रकार राम सुभक महतोले लेख्न थाले, बोल्न थाले, उनलाई पनि यस्तै भयो ।

तर पनि सुभक लेखिरहे, बोलिरहे । ठूला भनिएका मिडियाहरु मौन बस्दा उनी कराइरहे अहँ यो विमानस्थल, अन्तराष्ट्रिय बनेकै छैन । यो विमानस्थलमा घोटाला भएको छ, यहाँ पर्दापछाडीका धेरै अनियमितताहरु छन् ।

जव सुभक बोल्न थाले, तव उनीमाथि प्रहार हुन थाल्यो । कतिले एउटै मान्छेको पछाडि कति लागेको, कहाँ कुरो मिलेन भनेर गिज्याए, कतिले ठुलो मान्छेका पछाडि एउटा मामुली पत्रकार पछि लाग्नु हुँदैन भनेर घुमाउरो धम्की दिन थाले । तर पोखरा अन्तराष्ट्रिय विमान स्थलसहित अन्य धेरै विमानस्थलका बारेमा उनले गरेको खोजी रिपोर्टमा जुन तथ्य थियो, सो तथ्यका अगाडि उनी ती धम्कीहरुसँग डराएनन्, र लेखिरहे प्रदीप अधिकारी, अर्थात त्यो ठुलो माछाले गरेको बेइमानीको हिसाबकिताब ।

अधिकारीले यो समाचार रोक्न के मात्र गरेनन्, कसलाई मात्र भनेनन्, तर अहँ रोकिएन समाचार । 

पत्रकारितामा यस्तै हुन्छ कहिलेकाहीं, सुरुमा मान्छे पत्याउँदैनन्, तर जव समाचारले आफ्नो शक्ति प्रदर्शन गर्न थाल्छ, तव सत्य उजागर भएरै छाड्छ । अहिले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा जे घोटाला भएको छ, त्यसको समाचारको जस लिने भीड छ । केही समाचार हामीले पनि गर्यौं, तर हामी प्रष्ट छौँ, भ्रष्टलाई घुँडा टेकाउने अभियानमा राम शुभक महतोजति कोहि लागेनन्, र प्रदीप अधिकारीको कारागार यात्राको जस पनि उनैले पाउँछन्, पाउनुपर्छ ।

अझ धेरैलाई थाहा छैन यो प्रकरण के हो ? अझ सुभक जति त ती उनै अधिकारी थाहा होला, नत्र अरु कसैलाई थाहा नहोला ।

राम सुभक महतोले प्रदीप अधिकारी, विमानस्थलका नाममा भएको बेथितिका बारेमा जे जति खोज गरे, यो सम्मानजनक छ । पत्रकारिता पढ्दै गरेका, सिक्दै गरेका हामीजस्ताका लागि प्रेरणा हुन सक्छ यो अदम्य साहसको कथा । उनकै भाषामा ग्राउण्ड जिरो स्टोरीहरु अरु पनि आउनेछन्, आईरहुन्, अहिलेलाई यति भन्छौं, सुभक, सलाम तिम्रो साहसलाई, सलाम तिम्रो कलमलाई, सलाम तिम्रो योगदानलाई । सलाम धम्कीबाट नडराउने तिम्रो मुटुलाई, सलाम, प्रभाव र दबाबबाट नझुक्ने तिम्रो अन्तरमनलाई । सलाम ग्राउण्ड जिरोलाई । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK