Skip to content
LAXMI SUNRISE BANK

राजीनामापछि कुलमानले भने- ‘पद भन्दा सिद्धान्त र जनता ठूलो’

अर्थ सरोकार

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो निर्णय भाग्ने वा जिम्मेवारीबाट पन्छिने नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको स्पष्ट पारेका छन् ।

जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ११५ दिन जिम्मेवारी सम्हालेका घिसिङले राजीनामापछि पत्रकार सम्मेलन गर्दै उनले कुर्सीभन्दा माथि आत्मसम्मान र सरकारभन्दा ठूलो जनता रहेको बताए ।

‘मैले लिएको राजीनामाको निर्णय न त भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास । यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो ।’, उनले भने, ‘पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु । म मान्छु, पद भन्दा ठूलो हुन्छ, सिद्धान्त । कुर्सीभन्दा माथि हुन्छ, आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ, जनता ।’

प्रधानमन्त्रीको आग्रह र जेनजी आन्दोलनको चाहनाअनुसार मन्त्री बनेको उल्लेख गर्दै उनले आफूलाई विश्वास गर्ने प्रधानमन्त्री र परिवर्तनको पक्षमा उभिएका युवाप्रति आभार प्रकट गरे। उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहमति भए पनि हालसम्म कुनै दलको औपचारिक सदस्यता नलिएको उनले स्पष्ट पारे ।

राजीनामापछि ‘आफ्नो मान्छे’ नियुक्त गर्न दबाब दिएको भन्ने आरोपलाई उनले नियोजित भ्रमको संज्ञा दिँदै खण्डन गरेका छन् । अन्तरिम तथा चुनावी सरकारमा पदमै रहेर निर्वाचन लडिएको इतिहास स्मरण गराउँदै उनले आफ्नो निर्णयलाई अस्वाभाविक नठान्न आग्रह गरे ।

घिसिङले मन्त्रीको कार्यकाल छोटो भए पनि नीतिगत सुधारको बलियो जग बसालिएको दाबी गरे। सर्लाही र रौतहटमा ५०० डिप ट्युबेलमार्फत २२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ विस्तार, रानीजमरा कुलरिया लगायत आयोजनामा कृषकको लगानी सुनिश्चित गर्ने तयारी, नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ५ हजार मेगावाट विद्युत आयात–निर्यातको वातावरण निर्माण, तथा बंगलादेशतर्फ विद्युत निर्यात विस्तारलाई उनले महत्वपूर्ण उपलब्धि रूपमा प्रस्तुत गरेका छन् ।

त्यस्तै, वर्षौंदेखि अलपत्र परेका रुग्ण ठेक्काहरू तोडेर पुनः निर्माण प्रक्रिया अघि बढाइएको, सुनकोशी–मरिन, कन्काई पुल, हुलाकी राजमार्ग, कमला पुलजस्ता आयोजनाले गति लिएको, तथा बञ्चरेडाँडा फोहोर व्यवस्थापन, मेलम्ची पानी, कोदारी नाका र बीपी राजमार्ग सञ्चालनमा आएको उल्लेख गरे ।

मनसुनजन्य विपद् व्यवस्थापनमा राज्यको उपस्थिति कागजमै सीमित नरहेको दाबी गर्दै उनले समयमै सूचना, पूर्वतयारी र हस्तक्षेपका कारण ठूलो क्षति टरेको बताएका छन् ।

घिसिङले आफू पदबाट बाहिरिए पनि राष्ट्रको हित, जनताको पक्ष र सत्यको बाटोबाट नहट्ने उद्घोष गर्दै उज्यालो नेपाल निर्माणका लागि सशक्त रूपमा राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK