Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको १० लाख बढी नगदसहित एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले आइतबार करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका-४ ठाडीस्थित दशगजा इलाका नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भगवानपुर गाउँपालिका-३ मरिकटोल बस्ने २४ वर्षीय देवनाथ यादवलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार नौ सय ९० रुपैयाँ नगद र साथमा उनले प्रयोग गरेको मोटरसाइकल र एक थान मोबाइल फोन बरामद गरिएको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद नगद र सामग्रीहरू आवश्यक कारवाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध रकम तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र सुरक्षा जाँचलाई थप कडाइ गरिएको जानकारी दिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK