Skip to content
LAXMI SUNRISE BANK

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्यापर हुँदै मेयर बनेका ‘बालेन’

अर्थ सरोकार

काठमाडौँ । र्यापरबाट राजनीतिज्ञ बनेका बालेन्द्र शाह (बालेन) उनकै समर्थनमा भएको आन्दोलनबाट सत्ताच्युत भएका अनुभवि प्रधानमन्त्रीसँग चुनावी मैदानमा आमने–सामने हुँदैछन् । सन् २०२५ को सरकार ढाल्ने युवाहरूको मागको नेतृत्व गरेका शाह तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा होमिएका हुन् ।

३५ वर्षीय शाहले आमनिर्वाचनमा उम्मेदवारी दिन काठमाडौँ महानगरपालिकाको मेयर पदबाट गत साता राजीनामा दिएका थिए । उनले जनवरी २० मा राजिनामा घोषणा गर्दै अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालमा मार्च ५ (फागुन २१ गते) मा आमनिर्वाचन हुँदैछ । जुन सेप्टेम्बर २०२५ मा भएको व्यापक भ्रष्टाचारविरोधी आन्दोलनपछि हुन लागेको पहिलो निर्वाचन हो । उक्त आन्दोलनले ७३ वर्षीय माक्र्सवादी नेता तथा चारपटकका प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाएको थियो ।

‘ठूलो व्यक्तित्वविरुद्ध प्रतिस्पर्धा गर्नु भनेको म सजिलो बाटो रोजिरहेको छैन भन्ने सन्देश हो ।’, बालेनले भने, ‘देशलाई असर पारेका समस्या र विश्वासघातका बाबजुद हामी ती विषय समाधानतर्फ अघि बढिरहेका छौँ भन्ने कुरा यसले देखाउँछ ।’

भ्रष्टाचार र असमानतामाथि प्रहार गर्ने उनका ‘हिप-हप’ गीतहरूले लाखौँ भ्युज पाएका छन् ।

राजनीतिमा आउनुअघि सिभिल इन्जिनियर तथा र्यापर रहेका शाहले सन् २०२२ मा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएर राजनीतिक वृत्तलाई अचम्मित तुल्याएका थिए । उनले कर छली, ट्राफिक जाम, शिक्षा र सहरी फोहर व्यवस्थापनविरुद्ध अभियान चलाउँदै ठाडो बोल्ने सुधारकको छवि बनाएका थिए । तर, उनको कार्यशैलीमाथि व्यापक बलप्रयोग गरिएको र पत्रकारसँग संवाद गर्नुको साटो सामाजिक सञ्जालका लाखौँ समर्थकमार्फत सिधै कुरा गर्ने गरेको भन्दै आलोचना पनि भएको थियो ।

‘अनौपचारिक व्यवस्थामार्फत चलाइँदै आएका धेरै प्रक्रियालाई खुला खरिद प्रणालीमार्फत पारदर्शी बनायौँ ।’, उनले भने ।

बढ्दो प्रभाव
डिसेम्बरमा शाह टेलिभिजन प्रस्तोताबाट नेता बनेका ५० वर्षीय रवि लामिछाने नेतृत्वको मध्यमार्गी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका थिए ।

सन् २०२२ को निर्वाचनमा संसदको चौथो ठूलो शक्ति बनेको रास्वपाले सन् २००६ मा गृहयुद्ध समाप्त भएयता नेपालमा प्रभुत्व जमाइरहेका दलहरूलाई चुनौति दिएको थियो ।

रास्वपाले संसदमा बहुमत ल्याए प्रधानमन्त्री बन्नेछन् शाह
‘हाम्रो विचारधारा एउटै छ ।’, शाहले भने, ‘त्यो गरिबका लागि निःशुल्क शिक्षा र स्वास्थ्यसहित सामाजिक न्यायमा आधारित उदार आर्थिक प्रणालीको परिकल्पना हो ।’

काठमाडौँलाई आधार बनाएर चुनाव लड्नुको साटो शाहले ओलीको किल्ला मानिने झापा–५ बाट प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्र काठमाडौँबाट करिब ३०० किलोमिटर दक्षिण–पूर्वमा पर्ने मुख्यतया ग्रामिण जिल्ला हो ।

‘यसलाई अहंकारपूर्ण निर्णयका रूपमा बुझ्नु हुँदैन ।’, शाहले भने, ‘म झापाबाट लड्दा यसको प्रभाव अझ ठूलो हुन्छ ।’

सेप्टेम्बर ८ र ९ का प्रदर्शनहरू सुरुवातमा सरकारले प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा लगाएको छोटो अवधिको प्रतिबन्धविरुद्धको आक्रोशबाट सुरु भएका थिए । ‘जेन–जी’ को ब्यानर अन्तर्गत प्रदर्शनकारीहरू असंगठित रुपमा सडकमा उत्रिएका थिए । तर, तीन करोड जनसंख्या भएको देशमा आर्थिक जडता र गहिरो भ्रष्टाचारजस्ता दीर्घकालीन असन्तुष्टिले आन्दोलनलाई थप उग्र बनायो, जसमा कम्तीमा ७७ जनाको ज्यान गुमाउनुपरेको थियो ।

अर्थिक विकासको आवश्यकता
शाहले संयम अपनाउन आग्रह गर्दै आन्दोलनलाई समर्थन गरेका थिए । र, त्यसै क्रममा आन्दोलनका केन्द्रीय पात्रका रूपमा उदाए ।

‘जेन–जीको पहिलो माग सुशासन हो किनभने देशमा भ्रष्टाचार अत्यन्तै धेरै छ ।’, बालेनले भने, ‘जेन–जी आन्दोलनले युवाहरूका लागि ढोका खोलेको छ, हाम्रो केन्द्रीय समितिका ४० प्रतिशत सदस्य र समानुपातिक प्रतिनिधि सेप्टेम्बर आन्दोलनबाट उदाएका नयाँ अनुहार छन् ।’

युवा नेपालीहरू आर्थिक सुधारको बाचा गर्ने नेताको खोजीमा छन् । विश्व बैंकका अनुसार सन् २०२४ मा नेपालको ८२ प्रतिशत श्रमशक्ति अनौपचारिक रोजगारीमा छ । यहाँ प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १,४४७ अमेरिकी डलर रहेको छ । ‘हामीले अर्थतन्त्र बिस्तार गर्नुपर्छ ।’, पर्यटन, व्यापार र दक्ष रोजगारीलाई वैदेशिक रोजगारीका लागि भइरहेको व्यापक पलायन रोक्ने उपायका रूपमा उल्लेख गर्दै शाहले भने ।

भारत र चीनजस्ता क्षेत्रीय महाशक्तिहरूको बीचमा अवस्थित स्थलरुद्ध नेपालले भू–राजनीतिक दबाब सामना गरिरहेको छ तर शाहले यसलाई व्यापारिक केन्द्र बन्ने अवसरका रूपमा हेर्छन् । ‘मेरो दृष्टिकोण भनेको दुवै छिमेकी देशसँग स्वाभाविक सम्बन्ध कायम राख्नु हो ।’, बालेनले भने ।

राजनीतिमा केन्द्रित भए पनि संगीत आफ्नो पहिचानको अभिन्न अङ्ग रहेको उनले बताएका छन् । ‘संगीत आत्म–अभिव्यक्तिको माध्यम हो ।’, उनले भने, ‘म प्रधानमन्त्री निर्वाचित भए पनि यसलाई निरन्तरता दिनेछु ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK