Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकमा सुनको विषयमा लफडा, सिइओलाई घेर्दै ऋणीले सोधे- ‘मनपरी गर्न पाइन्छ ?’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा सुनको विषयमा लफडा भएको छ । भदौ २४ जेन-जी आन्दोलनका क्रममा बैंकको बानेश्वर शाखाबाट लुटिएको सुनको विषयमा बैंकमा ऋणी र प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीच लफडा परेको हो । 

लुटिएको सुनको विषयमा बैंकका सिइओ देवेन्द्ररमण खनालले सुन लुटिएको दिनकै मूल्य अनुसार पैसा दिने भनेपछि विवाद चर्किएको एक ऋणीले बताएका छन् ।

‘सुन लुटिएको दिनको मूल्य अनुसार पैसा दिने रे ! यस्तो पनि हुन्छ ?’, बैंकको केन्द्रीय कार्यालय पुगेका बैंकका एक ऋणीले भने, ‘यो ५-६ महिनामा सुनको मूल्य कहाँबाट कहाँ पुग्यो ? त्यसको हिसाबचाहिँ गर्नुपर्दैन ? मनपरी गरेर हुन्छ ?’

हाल सोही विषयमा बैंकका सिइओ र ऋणबीच भएको लफडाको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । जहाँ ऋणीहरुले बैंकका सिइओलाई मज्जैले थर्काएको स्पष्ट सुनिन्छ । 

‘हराएको सुन नदिने रे, जुन दिन सुन हराएको हो त्यही दिनको मूल्य हिसाब गरेर पैसा दिने रे ।’, भिडियोमा एक ऋणीले भनेकी छिन् । 

त्यस्तै, अर्का ऋणीले सिइओलाई प्रश्न गर्दै भनेका छन्– ‘एक तोला सुनको भाउ कति छ ? सित्तैमा आउँछ सुन ? मनपरी गर्न पाइन्छ ?’

भदौ २४ गते सुनको मूल्य ३ हजार १ सय रुपैयाँले बढेर २ लाख १४ हजार ७ सय रुपैयाँ प्रतितोला पुगेको थियो । जबकी आज (माघ २९ गते) सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँ पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK