Skip to content
LAXMI SUNRISE BANK

सञ्चालनको पर्खाइमा नागढुङ्गा सुरुङमार्ग (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौं-धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यस परियोजना बहुआयामिक महत्वको मानिन्छ ।

यस सुरुङमार्गको औपचारिक शिलान्यास २०७६ कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गरेका थिए । परियोजनाको सुरुवाती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो, तर निर्माणका क्रममा भूगर्भीय समस्या, डिजाइन परिवर्तन र अन्य कारणले लागत बढ्दै २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । जापान सरकारको सहुलियत ऋण सहयोगमा जापानी कम्पनी हाजमा–आन्दो जेभीले जिम्मा पाएको थियो ।प्रारम्भिक रूपमा परियोजना करिब ४२ महिनामा २०७८/८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, तर विभिन्न प्राविधिक र भौगोलिक समस्याका कारण समय लम्बिँदै २०८२ सम्म आइपुग्दा निर्माण कार्य सम्पन्न भएको छ, भने धादिङ क्षेत्रमा पहिरो नियन्त्रण र टोल गेट निर्माण कार्य भइरहेको छ ।  नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का भने चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाइसकेको छ । सडक विभागअन्तर्गतको परियोजना कार्यालयले सुरुङमार्ग सञ्चालनको ठेक्का पाँच वर्षका लागि युक्सिन–एआरटीलाई करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा ठेक्का दिएको हो । यसका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरी सकेको छ ।

मन्त्रालयले राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा ९१०ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । मिनी बस, मिनी टिपररट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० रुपैयाँ लाग्नेछ । बस, ट्रक (सिंगल रियर एक्सल) प्रतिसवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ ।

मल्टी एक्सल ट्रकरसवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK