Skip to content
LAXMI SUNRISE BANK

सहकारीकी व्यवस्थापक गम्भीर अवस्थामा फेला, ढोका फुटाएर उद्दार, ७ जनाविरुद्ध प्रहरीमा उजुरी !

अर्थ सरोकार

काठमाडौँ । हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी सहकारीभित्रै गम्भीर बिरामी अवस्थामा फेला परेकी छिन् । सहकारीकी कायममुकायम व्यवस्थापक गम्भी र बिरामी अवस्थामा फेला परेकी हुन् ।

सहकारीको कार्यालयभित्रै गम्भीर बिरामी अवस्थामा फेला परेकी उनलाई ढोका फुटाएर उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । 

सहकारीका एक कर्मचारीका अनुसार उनलाई शुक्रबार नै उद्धार गरेर हेटौँडा अस्पताल लगिएको थियो । तर, हेटौँडा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित सीएमसी अस्पताल लगिएको छ ।

उक्त घटनामा ती कर्मचारीका परिवारले सहकारीका ७ जना पदाधिकारी तथा कर्मचारीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा उजुरी दिएका छन् । प्रहरी स्रोतका अनुसार सहकारीका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइबा, राजन थापा, कृष्णप्रसाद दाहाल, कुलप्रसाद त्रिपाठी, नवराज खतिवडा र सुशील सुवेदीविरुद्ध उजुरी परेको छ ।

ती कर्मचारीका आफन्तका अनुसार घटनास्थलमा ‘अलबिदा’ लेखिएको नोट समेत फेला परेको छ । उक्त नोटमा ७ जनाको नाम उल्लेख गरेर उनीहरुले पटकपटक गालीगलौज गर्ने, गैरकानूनी काम गर्न दबाब दिने, चरित्र हत्या गर्ने तथा धम्की दिनेजस्ता व्यवहार गरेको उल्लेख गरिएको छ । 

यता प्रहरीले उक्त घटनामा अनुसन्धान गरिरहेको बताए पनि पीडितका आफन्तले भने प्रहरीले असहयोग गरेको आरोप लगाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK