Skip to content
LAXMI SUNRISE BANK

अटो चलाएर आत्मनिर्भर बन्दै मखमली

अर्थ सरोकार

काठमाडौँ । ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी जीविका चलाउने भन्ने सोच्नै सकिरहेकी थिएनन् । एकमात्र विकल्प वैदेशिक रोजगारीमा जाने योजना बनाउँदै उनले राहदानीसमेत बनाइसकेकी थिइन् ।

त्यसैबीचमा गाउँपालिकाले आयोजना गरेको अटो चालक तालिममा सहभागी हुने अवसर प्राप्त गरिन् । ‘तालिम लिएपछि गाउँमै केही गर्न सकिन्छ कि भन्ने आशा जाग्यो,’ उनले भनिन् ।  हाल वाइबाले अटो चलाउने ‘लाइसेन्स’ लिएर गाउँमै अटो चलाउन थालेकी छिन् । मखमलीले अटो चलाएर गाउँमै दैनिक तीन हजार रुपैयाँ देखि पाँच हजारसम्म आम्दानी गर्न थालेकी छिन्। यसले उनलाई जीविका चलाउन मात्र सहज नभएर आत्मविश्वाससमेत बढाएको छ ।

सोही गाउँपालिका-३ की अनिता वलले पनि घरको चुल्होचौकोबाट बाहिर निस्केर कसरी अर्थोपार्जन गर्न सकिएला भन्ने सोचिरहेकी थिईन् । मखमलीकै जस्तो उनलाई पनि अटोचालक तालिमले नयाँ अवसर प्रदान गर्‍यो । अहिले अटो चलाएर उनले स्वरोजगार महसुस गरेकी छिन् । उनले भनिन्, ‘आफैँ कमाउन थालेपछि आत्मसम्मान पनि बढ्दो रहेछ ।’

सुरुवातमा महिलाले सवारी चलाउँदा आश्चर्य र आलोचना दुवै सामना गर्नुपरेको थियो । तर अहिले अवस्था बदलिँदै गएको र यात्रुहरूले सहज रूपमा सेवा लिन थालेको उनको अनुभव छ ।

महाङ्काल गाउँपालिकाले कृषि, पर्यटनलगायत अन्य क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाबाट बाहिरिने जनसङ्ख्या घटाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । पालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेका अनुसार अटो ड्राइभिङ तालिमले मखमली र अनिता जस्ता बेरोजगार महिलाको जीवनमा परिवर्तन ल्याएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरिएको तालिममा २२ गृहिणी सहभागी थिए, जसमध्ये १५ जनाले चालक अनुमतिपत्र प्राप्त गरेका छन् । तीमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन् ।

उपाध्यक्ष गोलेका अनुसार तालिममा सहभागीमध्ये केहीले बीचमै तालिम छाडेका थिए । तालिम लिएकामध्ये बाँकी १३ जना व्यवसायमा जोडिन प्रयासरत छन् । पालिकाले अटो व्यवसाय सुरू गर्न चालक अनुमति पत्र  प्राप्त गरेका दुई जनालाई दुई लाख २५ हजार रुपैयाँको दरले आर्थिक अनुदान उपलब्ध गराएको छ । यसले उनीहरूलाई व्यवसाय सञ्चालन गर्न सहज भएको हो ।

गाउँपालिकाले अन्य १३ जनालाई पनि अनुदान उपलब्ध गराउन प्रयत्न गरिरहेको छ । ‘यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीयस्तरमा यातायात सेवा पनि सहज बनाएको छ,’ उपाध्यक्ष गोलेले भनिन् ।

गाउँपालिकाले वडा नं. १ देखि ६ सम्म सञ्चालन हुने अटो सेवाका लागि भाडा दरसमेत निर्धारण गरेको छ । केही सडक कच्ची भएकाले यात्रा चुनौतीपूर्ण भए पनि सेवा विस्तार हुँदै गएको छ । महाङ्काल गाउँपालिकाले अटो ड्राइभिङसँगै अचार बनाउने, सिलाइकटाइ, च्याउखेती लगायतका तालिम सञ्चालन गर्दै महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK