Skip to content
LAXMI SUNRISE BANK

दर्शकको उत्साहबीच ‘मालती मंगले’मा समावेश ‘चुड्का भजन’ गीत सार्वजनिक

अर्थ सरोकार

 काठमाडौं । प्रदर्शनको तेस्रो दिनमा आइपुग्दा घरेलु बक्सअफिसमा सानदार व्यापार गरिरहेको नेपाली चलचित्र ‘मालती मंगले’को निर्माण पक्षले नयाँ सांगीतिक कोसेली सार्वजनिक गरेको छ । हलहरूमा दर्शकको चाप ह्वात्तै बढेर ‘माउथ पब्लिसिटी’मार्फत चलचित्रले उत्कृष्ट व्यापार गरिरहेको खुसियालीस्वरूप निर्माण टोलीले चलचित्रमा समावेश ‘चुड्का भजन’ बोलको भिडियो गीत दर्शकमाझ ल्याएको हो ।

सार्वजनिक ‘चुड्का भजन’मा पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको छ भने किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ। किरण भुसालकै संगीत निर्देशन रहेको यस गीतमा परम्परागत चुड्का लयको आकर्षक प्रयोग गरिएको छ। गीतको तालबाजा (पर्कसन)मा किरण भुसाल र रायपुर समुदायले साथ दिएका छन् भने मादल, मुजुरा र खैँजडीमा सन्देश पौडेलको उत्कृष्ट प्रस्तुति छ । गोविन्द पी.के. आँशु, अच्युत कडेल, सञ्जय (सपुत मोक्तान), राहुल मोक्तान, दिनेश लामा, ह्वाञ्ची लामा र मोहनको अतिरिक्त स्वर रहेको यस भजनलाई रिदम कँडेलले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

गत शुक्रवारबाट प्रदर्शनमा आएको यस चलचित्रले दर्शकको साथ पाएको छ । चलचित्र हेरेका दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का कारण अहिले देशभरका सिनेमाघरहरूमा दर्शकको चाप बढेको छ । दर्शकको उत्साह र प्रत्यक्ष प्रतिक्रिया बुझ्न शनिवार राजधानीका विभिन्न हलहरूमा पुगेका निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल र मेक्सम गौडेललाई दर्शकले हुटिङ र गडगडाहट तालीले स्वागत गरेका थिए । पर्दामा देखेका कलाकारलाई आफ्नै अगाडि पाउँदा दर्शकको क्रेज छताछुल्ल भएको थियो ।

सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई पेट मिचीमिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउने ‘नेपालीपन बोकेको अब्बल मास्टरपिस’को सङ्ज्ञा दिएका छन् । विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेताद्वय विजय बराल र मेक्सम गौडेलको दमदार प्रस्तुतिले सबैको मन जितेको छ ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् । चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको सशक्त अभिनय रहेको छ ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन् । महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको प्राविधिक रूपमा अब्बल यस चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गरिरहेको छ । दर्शकबाट प्राप्त मायाले चलचित्रको बक्सअफिस यात्रा आगामी दिनमा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK