Skip to content
LAXMI SUNRISE BANK

विद्यार्थीको मोबाइल थुतेको प्रकरणमा शिक्षामन्त्री बोले, सर्वोच्चमा मुद्दा, अब के हुन्छ ? (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । कलिला विद्यार्थीहरुले मात्र चिट चोर्ने प्रयास गरे भनेर उनीहरुको मोबाइल थुतेर, लुटेर, नष्ट गर्नेगरी राज्यले गरेको एउटा क्रूर अन्यायका बारेमा हामीले हिजो पनि बोल्यौँ, आज पनि बोल्छौँ । म प्रशासन हुँ मैले जे गरे पनि हुन्छ भन्ने दम्भको गन्ध आउने एउटा सन्की निर्णयको चौतर्फी विरोध भइरहेको तथ्य, र सो तथ्यभित्र खोजिनिधि हुनुपर्ने अन्य थप केही सूचनाको अपरेशन गर्दैछौँ आज । 

१. सुरुमा त विद्यार्थीको मोबाइल थुतेर बहादुरी देखाइएको घटनालाई गलत भन्ने सरकारका प्रवक्ता, हामी युवाहरुका प्रिय शिक्षामन्त्री सस्मित पोख्रेललाई साधुवाद छ । प्रशासनले गरेका हरेक गलत कामको बचाउ गरिराख्नु पर्दैन भन्ने तथ्यमा टेकेर यो सिराहा प्रशासनको क्रूर निर्णयलाई गलत भनिदिएकोमा माननीय मन्त्रीज्यूलाई विशेष धन्यवाद छ । हो, शिक्षामन्त्री पोखरेलले खुलेरै भनेका छन्, विद्यार्थीको मोबाइल थुतिनु, गैरकानुनी छ, गलत छ । दोषीमाथि कारवाही हुनुपर्छ र विद्यार्थीलाई क्षतिपूर्ति दिईनुपर्छ

२. विद्यार्थीको मोबाइल थुतेर प्रशासनले नष्ट मात्र गरेन, छ्या ! यस्तो जनविरोधी पनि प्रशासन हुन्छ ? जेनजी युवाले रगत बगाएको यति देख्नलाई थियो ? भन्ने भान धेरैलाई भएको छ । र त, विरोध भइरहेको छ, यो राज्य आतंकको । आन्दोलनमा छन् विद्यार्थी, र अभिभावक अनुनय गरिरहेका छन्, ‘सरकार, हाम्रा जेनजी छोराहरुले लडेर ल्याएको शासनमा हामी माथि अन्याय भयो ।’

३. प्रशासनले विद्यार्थीको मोबाइल थुतेर नष्ट गरेको घटनामा एउटा शंकास्पद संयोग पनि देखिएको छ । विद्यार्थीका करोडौँ रुपैयाँ पर्ने मोबाइल नष्ट भएपछि सिराहाका मोबाइल पसलहरुको व्यापार बढेको छ । आखिर मोबाइल त नभई भएन, ऋणधन गरेर भए पनि आफ्नो गक्ष अनुसारको मोबाइल किनिरहेका छन् नागरिक । यो उनीहरुको रहर भन्दा पनि बाध्यता हो । अव यहाँ प्रश्न छ, कतै यो संयोग नियोजित त थिएन ? कतै प्रशासन र मोबाइल पसलेहरु मिलेर यो व्यापारको राजनीति त गरेनन् ? यसको निष्पक्ष अनुसन्धान होस् ।

४. प्रशासनले डाटा हराउँछ भनेर मोबाइल पानीमा डुबाएको दाबी गरेको छ । तर एआई तथा प्रविधि विज्ञहरुले डाटा त्यसरी नष्ट नहुने दाबी गरेका छन् । इन्जिनियर धिरज प्याकुरेल भन्छन्- ’अहँ त्यसरी पानीमा मोबाइल डुबाएकै कारण मोबाइलको डाटा नष्ट हुँदैन ।’ अव प्रश्न उठ्छ, भोलि ती मोबाइलमा भएका डाटाको दुरुपयोग भयो भने त्यसको जिम्मा कसले लिन्छ ? 

५. आफ्नो मोबाइल थुतेर नष्ट गरिएको सुनेर आन्दोलनमा उत्रिएका विद्यार्थीहरुको शंका छ- सबै मोबाइल नष्ट भए वा राम्रा मोबाइल लुकाइए ? यसको निष्पक्ष अनुसन्धान कसले गर्छ ? सरकारका प्रवक्ताले नै क्षतिपूर्ति दिनुपर्छ भने पछि क्षतिपूर्ति त दिनु पर्छ नै, होइन भने राज्यले स्वीकार्नुपर्छ, आफ्नो अराजकता । अनि माफी माग्नुपर्छ राज्यले ती विद्यार्थीहरुसँग, जसले कुनै अपराध गरेका थिएनन्, तर राज्यको अराजकताको सिकार भए । ती अभिभावकसँग पनि राज्यले माफी माग्नुपर्छ, जसको काँधमा थप आर्थिक बोझ आईलागेको छ, किनकि मोबाइल त आखिर किन्नु नै छ नयाँ ।

सरकारले बेलैमा स्कुलहरुमा मास्टरहरुलाई राजनीति गर्न रोक लगाईदिएको भए, आज विद्यार्थीले चिट चोर्ने प्रयास गर्नुपर्दैन थियो । अनि न परीक्षा हलमा मोबाइल लानुपथ्र्यो, न थुतेर नष्ट गथ्र्यो प्रशासनले । पोलीसीमा पनि, फिल्डमा पनि चुकेको राज्य हो, यसमा विद्यार्थीको कसुर केही थिएन । सरकारका प्रवक्ताले नै भनिसकेपछि अव ती विद्यार्थीहरुलाई क्षतिपूर्ति दिईनुपर्छ । र राज्यले सिक्नुपर्छ- सनकका भरमा थिति बस्दैन, स्टन्टले देश बन्दैन । (भिडियो) 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK