Skip to content
LAXMI SUNRISE BANK

आर्थिक अभावकाबीच १४ वर्षीय सुशील भण्डारीद्वारा कथा सङ्ग्रह ‘घाम छायाँ’ प्रकाशन

अर्थ सरोकार

काठमाडौँ । आर्थिक अभाव, पारिवारिक समस्या र दुर्गम गाउँको कठिन जीवनकाबीच कैलालीका १४ वर्षीय विद्यार्थी सुशील भण्डारीले आफ्नो पहिलो कथा सङ्ग्रह “घाम छायाँ” प्रकाशन गरेका छन् ।

मूल रूपमा डोटी जिल्लाको पहाडी क्षेत्रका बासिन्दा सुशीलको बाल्यकाल प्रकृतिको काखमा बित्यो । जङ्गलको बीचमा रहेको एकान्त घरमा हुर्किएका उनले जीवनका धेरै संघर्षहरू सानै उमेरमै भोगे। परिवारको आर्थिक अवस्था कमजोर थियो भने उनका बुबा लामो समयदेखि बिरामी रहँदै आएका छन् ।

हाल कैलालीमा बसोबास गर्दै आएका सुशील सरकारी विद्यालयमा अध्ययनरत छन् । सीमित स्रोतसाधन, आर्थिक कठिनाइ र विभिन्न चुनौतीका बाबजुद उनले साहित्यप्रतिको लगावलाई कहिल्यै मर्न दिएनन्। यही लगन र निरन्तर मेहनतको परिणामस्वरूप उनको १५२ पृष्ठको कथा सङ्ग्रह “घाम छायाँ” प्रकाशन भएको हो ।

यस पुस्तकमा समाजका विविध पक्ष, गरिबी, संघर्ष, मानवीय संवेदना, आशा, निराशा तथा जीवनका यथार्थ चित्रण गरिएका छन् । लेखकका अनुसार पुस्तकले पाठकलाई केवल कथा मात्र होइन, जीवनलाई बुझ्ने दृष्टिकोण पनि प्रदान गर्ने प्रयास गरेको छ ।

कम उमेरमै पुस्तक प्रकाशन गर्न सफल भएका सुशीलको यात्रा धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ। कठिन परिस्थितिबाट उठेर साहित्य सिर्जनामा लागेको उनको प्रयासले प्रतिभा र दृढ इच्छाशक्ति भए सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।

भविष्यमा पनि साहित्यिक सिर्जनालाई निरन्तरता दिने लक्ष्य राखेका सुशील नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउने सपना बोकेर अगाडि बढिरहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK