Skip to content
LAXMI SUNRISE BANK

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिए जयवीर देउवा, शंकास्पद धन आर्जन गरेको आरोप !

अर्थ सरोकार

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । 

जयवीरमाथि शंकास्पद धन आर्जन गरेको र सो रकम विभिन्न क्षेत्रमा लगानी गरेको आशंकामा विभागले लामो समयदेखि सूक्ष्म अनुसन्धान गरिरहेको थियो ।

विभागद्वारा जारी सूचनामा डडेलधुरा जिल्ला साबिक आसिग्राम गाविस वडा नं ५ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका-२, बुढानीलकण्ठ बस्ने ३१ वर्षीय जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम उपस्थित हुन भनिएको छ ।

विभागले उनीसँग केही कुरा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको विभागको कार्यालयमा हाजिर हुन म्याद दिएको हो ।

जयवीरको नाममा रहेका केही व्यावसायिक कम्पनीहरू र त्यसमा भएको लगानीको स्रोत नखुलेपछि विभागले उनीमाथि निगरानी बढाएको थियो । साथै विवादास्पद व्यवसायी दीपक भट्टसँग पनि उनको व्यवसायिक सम्बन्ध रहेकाले विभागले उनिमाथि निगरानी बढाएको र हाल अनुसन्धानका लागि उपस्थित हुन सूचना जारी गरेको विभाग स्रोतले जनाएको छ । व्यवसायी भट्ट र उनका साझेदार सुलभ अग्रवाल भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

विभागले यसअघि पनि उनलाई सम्पर्क गर्ने प्रयास गरे तापनि उनी मुलुक बाहिर रहेको र सम्पर्कमा नआएका कारण सार्वजनिक सूचना नै जारी गर्नुपरेको विभाग स्रोतले जनाएको छ । विभागले आफ्नो सूचनामा स्पष्ट पारेको छ कि तोकिएको म्यादभित्र जयवीर उपस्थित नभएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अधिकृतले बयानका लागि बोलाउँदा उपस्थित नहुनुलाई अनुसन्धानमा असहयोग गरेको मानिने र यसले कानुनी जटिलता थप बढाउन सक्ने प्रावधान रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK