Skip to content
LAXMI SUNRISE BANK

विदेश होइन, गाउँमै भविष्य: उन्नत भैँसीपालनबाट मासिक एक लाख आम्दानी !

अर्थ सरोकार

काठमाडौँ। बिहानको झिस्मिसे नहुँदै बिहादी गाउँपालिका-२ बर्राचौरस्थित देवेन्द्र पराजुलीको गोठमा चहलपहल सुरु हुन्छ । भैँसीलाई दाना-पानी खुवाउनेदेखि दूध दुहुनसम्मको काम सकिँदासम्म उनको दिन निकै अघि बढिसकेको हुन्छ । यही गोठ अहिले उनको आम्दानीको मुख्य आधार बनेको छ । उन्नत जातको भैँसीपालनबाट उनले खर्च कटाएर मासिक करिब रु एक लाख आम्दानी गर्दै आएका छन्।

रोजगारीको खोजीमा हजारौँ नेपाली युवा विदेशतर्फ लागिरहेका बेला ४० वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट पनि सम्मानजनक आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् । स्थानीय जातका दुई-तीनवटा भैँसीबाट सुरु भएको उहाँको व्यवसाय अहिले पाँचवटा मुर्रा जातका उन्नत भैँसी र अन्य स्थानीय जातका गरी १० वटा भैँसीसम्म विस्तार भएको छ ।

दैनिक ८० देखि १०० लिटरसम्म दूध उत्पादन हुने उहाँको फार्मबाट निस्कने दूध स्थानीय बजारसँगै हुवास, गुल्मीको पुर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ । भैँसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको उनी बताउँछन् । ‘समस्या बजारको होइन, उत्पादनको हो,’ उनी भन्छन्, ‘अझ धेरै दूध उत्पादन गर्न सकियो भने पनि बिक्रीको चिन्ता छैन । अहिले घरबाटै प्रतिलिटर रु १०० का दरले दूध बिक्री भइरहेको छ ।’

करिब रु ३० लाख लगानीमा चार वर्षअघि स्थापना गरिएको ‘पराजुली कृषि तथा पशु फार्म’ अझ विस्तार गर्ने तयारीमा उनी छन् । आगामी वर्षदेखि थप उन्नत जातका भैँसी खरिद गरी कम्तीमा २० वटा मुर्रा भैँसी पाल्ने योजना उनले बनाएका छन्।

भेटेरिनरी जेटिए अध्ययन गरेका पराजुलीले सिकेको ज्ञान आफ्नै गाउँमा प्रयोग गर्ने उद्देश्यले पशुपालन रोजेका हुन् । उनको व्यवसायमा श्रीमती अमृतादेवी शर्मा पराजुली, आमाबुबालगायत परिवारका सदस्यको पनि सक्रिय साथ छ । बिहानदेखि रातिसम्म गोठमै व्यस्त रहने उहाँ मेहनत गर्न विदेशिनुपर्ने बाध्यता नरहेको बताउँछन्।

भैँसीपालनसँगै उनले व्यावसायिक तरकारी, मकै र धानखेती पनि गर्दै आउनुभएको छ । आफ्नै र लिजमा लिएको गरी २८ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गर्दै उहाँले सिजनअनुसार टमाटर तथा अन्य तरकारी उत्पादन गर्छन् । कालीगण्डकी करिडोर नजिकै रहेको फार्म भएकाले उत्पादन बजारसम्म पुर्याउन पनि सहज भएको उनको अनुभव छ ।

उनको व्यवसायलाई विस्तार गर्न चालु आर्थिक वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बागलुङले रु चार लाख अनुदान उपलब्ध गराएको छ । कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रमअन्तर्गत उद्यमी र कार्यालयको ५०-५० प्रतिशत साझेदारीमा प्राप्त उक्त सहयोगबाट आधुनिक गोठ निर्माण गरिएको हो ।

कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्रमुख अर्जुनप्रकाश सुवेदीका अनुसार वैदेशिक रोजगारीबाट फर्केका वा कृषि उद्यममा लागेका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको हो । यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा उद्यमशीलता विस्तार गर्न र युवालाई स्वदेशमै अवसर खोज्न प्रेरणा मिल्ने उनको विश्वास छ ।

पराजुलीको अनुभवमा विदेश जान खर्चिने रकम र श्रम आफ्नै गाउँमा लगानी गर्न सके सफल हुन सकिन्छ । ‘विदेशको चर्को घाममा पसिना बगाउनुभन्दा आफ्नै माटोमा मेहनत गर्नु राम्रो,’ उनी भन्छन्, ‘दु:ख त यहाँ पनि हुन्छ, तर त्यसको प्रतिफल आफ्नै घर-परिवार र गाउँले पाउँछन् । यही नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK