Skip to content
LAXMI SUNRISE BANK

बजारमा बेचिँदैछ अखाद्य रमपम चाउचाउ, जनतालाई बिरामी पारेर पैसा कमाउने दाउ ! (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । रमपम चाउचाउ । हो,  ए/२३सी२ ब्याचधारी यही रमपम चाउचाउ अखाद्य छ भन्ने कुरामा अव कुनै पनि दुईमत रहेन । किनकि, खाद्य तथा गुण नियन्त्रण विभागले प्रष्ट भनिसकेको छ यो रमपम चाउचाउ अब बजारमा नबेच, बजारमा जति छ, त्यो पनि फिर्ता गर र फिर्ता गरेको जानकारी गराऊ । तर जनतालाई बिरामी पारेर पैसा कमाउन पल्केका व्यापारीले फिर्ता गर्नुपर्ने सबै रमपम बजारबाट फिर्ता गरेनन् । र सरकारी उर्दीको वेवास्ता गर्दै निर्वाध बिक्री भयो र भइरहेकोअखाद्य प्रमाणित रमपम चाउचाउ । टुपीएम चाउचाउसमेत उत्पादन गर्ने एसियन थाईफुड्सले उत्पादन गरेको सो चाउचाउमा न्यनतम खाद्य गुणस्तर नभेटिएपछि तत्काल बिक्री वितरण रोक्न आदेश दिइएको थियो । तर नेपालको कानुन, जान्नेले जानुन् भनेजस्तै जबर्जस्ती रमपम बेच्ने काम भइरहेको छ ।

खाद्य तथा गुण नियन्त्रण विभागले अखाद्य प्रमाणित भएका चाउचाउका प्याकेटहरु फिर्ता गर्न भनेको भए पनि त्यसो हुन सकेको छैन । बरु उल्टै, रातारात थुप्रै चाउचाउ गाउँ गाउँ पुगे, कति चटपटे पसलहरुले सस्तोमा किनेर लगे, कतै अझै बेचिँदैछजनस्वास्थजस्तो गम्भीर विषयमा यो हदसम्मको फट्याई हुँदा पनि सरकारले रमपमलाई कारवाही गरेको छैन । अनि यता, रमपमका प्रतिनिधिहरु यस विषयमा प्रतिक्रिया नै दिन मानिरहेका छैनन् ।

भलै सचेत जनता रमपमविरुद्ध जागरुक हुन थालिसकेका छन् । रमपम अखाद्य प्रमाणित भएपछि थप के के भयो, अव यी तथ्यतिर लागौँ ।  

१. रमपम अखाद्य प्रमाणित भएको खबर सार्वजनिक भएपछि हामीलाई कतिपय स्कुलका प्रतिनिधिले फोन नै गरेर आफुहरुले अभिभावकहरुलाई रमपम बच्चाहरुलाई नखुवाउन भनेको बताएका छन् भने अभिभावकहरुले पनि बच्चाहरुलाई रमपम चाउचाउबाट टाढै राख्ने प्रतिबद्धता जनाएकोसमेत बताएका छन् ।        

२. अखाद्य प्रमाणित भएका रमपम चाउचाउ तत्काल बेच्न बन्द हुनुपर्ने थियो, तर त्यसो भएन । उल्टै ती चाउचाउ सस्तोमा बेचिए र अधिकांश त्यस्ता सस्ता चाउचाउ चटपटे पसलहरुले किने । यो तथ्य हामीले केही हदसम्म उजागर गरिदिएपछि अहिले रमपम मात्र हाल्ने चटपटेवालाहरुकहाँ ग्राहक कम जान थालेका छन् । अन्य चटपटे पसलहरुमा पनि ग्राहक भन्न थालेका छन्- ‘चाउचाउ हाल्नुहोस्, तर रमपम होइन ।’

३. सबैभन्दा गम्भीर विषयचाहिँ अखाद्य प्रमाणित भएको रमपम चाउचाउ फिर्ता गर्नुपर्नेमा ती चाउचाउ सस्तोमा हाइवेका होटलहरुमा बिक्री वितरण भइरहेको पाइएको छ । हाइवेमा चाउचाउ पकाएर खाँदा कसैले पनि ब्याच नहेर्ने हुनाले यस्ता अखाद्य चाउचाउहरु हाइवेका होटलहरुमा बिक्री भइरहेको पाइएको छ । यो गम्भीर विषय हो, यसमा सचेत हुनुहोला । हाइवेका होटलहरुमा ब्याच नम्बर हेरिराखने कुरा पनि भएन ।  त्यसैले यात्रा गर्दैहुनुहुन्छ र चाउचाउ खाँदैहुनुहुन्छ भने एकपटक होइन, १० पटक सोच्नुहोला ।

४.  हुन त रक्सी खानेलाई के स्वास्थ्यको चिन्ता भन्ने तर्क पनि होला । र पनि, तथ्य यो हो कि अखाद्य प्रमाणित भएका रमपम चाउचाउ सस्तोमा बेचेर भट्टी पसलमा पुगेका छन् । रक्सीसँगै सितनमा यही अखाद्य रमपम खुवाउने काम भएको छ । बेच्नेलाई पनि फाइदा, खानेलाई ब्याच नम्बर मतलव नै भएन ।

५. रमपम अखाद्य प्रमाणित भएपछि कलेजहरु भने सचेत बनेका छन् । टुपीएम चाउचाउसमेत उत्पादन गर्ने एसियन थाईफुड्सको उत्पादन रमपम चाउचाउ अखाद्य प्रमाणित भएपछि त्यस्ता अखाद्य चाउचाउ पकाउन काठमाडौँका दर्जनौं कलेजहरुले आफ्ना क्यान्टिनमा बर्जित गरेका छन् । सरकारी निकायले नै अखाद्य प्रमाणित गरिसकेको अवस्थामा रमपम चाउचाउ बिक्री नगर्न आफ्ना क्यान्टिनहरुमा कलेजहरुलेसमेत उर्दी जारी गरेका हुन् । 

अखाद्य प्रमाणित भएपछि रमपम चाउचाउको रिटेल व्यापार ह्वात्तै घटेको छ, जुन स्वाभाविक हो । तर गल्ती स्वीकारेर गुणस्तरीयतामा थप ध्यान दिनुपर्नेमा अखाद्य रमपम बजारमा निर्वाध बिक्री भइरहेको छ । यसमा अव व्यापारीलाई सरकारले केही गरेन भने गुनासो गर्नु र आफूहरूले अखाद्य रमपम नखानुको थप विकल्प छैन । (भिडियो) 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK